बिर्तामोड। नेवा: पाशा मुना पुच: बिर्तामोड नगर समितिले लाखे नाच शुभारम्भ गरेको छ।
नाग पञ्चमीको अवसरमा अर्जुनधारा- ६ भिमसेन मन्दिरबाट पुजाआजा गरी शुरू भएको लाखे नाच बिर्तामोड नगरपालिकाका बिभिन्न स्थानमा प्रदर्शन गरिने लाखे नाच संयोजक प्रविन शाक्यले बताए।
नेवा: पाशा मुना पुच: बिर्तामोड नगर समितिका अध्यक्ष राजीव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नेवा: पाशा मुना पुच: बिर्तामोड नगर समितिका पूर्व अध्यक्ष चन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठलगायतले लाखे नाचको महत्व बारे जानकारी गराएका थिए।
कार्यक्रममा नेवा: पाशा मुना पुच: बिर्तामोड नगर समितिले आगामी भदौ १३ गते जनै पूर्णिमाको भोलिपल्ट पहिलो पटक गाईजात्रा निकाल्न लागिएको गाईजात्रा कार्यक्रम संयोजक अनिता हलवाईले बताइन्।
नेवा: पाशा मुना पुच: बिर्तामोड नगर समितिले बिर्तामोडमा २०५५ सालदेखि लाखे नाच निकाल्दै आएको लाखे तथा सांस्कृतिक संरक्षक लक्ष्मी श्रेष्ठले बताए। लाखे नाच लोपोन्मुख अवस्थामा पुगेपछि युवा पुस्तामा लाखे नाचप्रति आकर्षण जगाउन तथा लाखे नाच संरक्षण, संवर्द्धन गर्न लाखे नाच निकालिएको नेवा: पाशा मुना पुच: बिर्तामोड नगर समितिका अध्यक्ष राजीव श्रेष्ठले बताए।
नेवार समुदायका घर, चौक, विभिन्न विद्यालयमा लाखे नाच प्रदर्शन गरिने उनले बताए।
नेवा: पाशा मुना पुच: बिर्तामोड नगर समिति अन्तर्गत नेवा: मिशा पुच: , नेवा: ल्याह्म पुच: कापदाधिकारीहरूलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेवा: पाशा मुना पुच: बिर्तामोड नगर समितिकी सचिव शर्मिला शाक्यले गरेकी थिइन्।




















