बिर्तामोड। झापाको बिर्तामोड- ५ मुक्तिचोक काँकडभिट्टा रोडमा सञ्चालित होटल हिकोला हेरिटेज प्रालि १२ वर्ष पूरा गरी १३औँ वर्ष प्रवेशको वार्षिकोत्सव तथा सञ्चालक देवीभक्त श्रेष्ठकी जेष्ठ सुपुत्री मनिता श्रेष्ठको जन्मोत्सवको अवसरमा पर्यटन प्रवर्द्धनमा भाषा, साहित्य, संगीत , कला, संस्कृति, परम्पराको भूमिका विषयक अन्तरक्रिया, सम्मान, श्रद्धाञ्जलि लगायत गरिने भएको छ ।
भदौ ४ गते बिहीबार दिउँसो १ बजेदेखि साहित्य चौतारीको प्रेक्षालयमा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिने तथा साहित्य चौतारीका मानार्थ सल्लाहकार अभिनन्दित ब्यक्तित्व जीवन अधिकारीको प्रमुख आतिथ्यमा सम्मान तथा सांगीतिक कार्यक्रम गरिने भएको होटल हिकोला हेरिटेजका सञ्चालक तथा प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले बताए।
होटलका सञ्चालक तथा प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले २०७२ साल भदौ ४ गते जेष्ठ सुपुत्री मनिता श्रेष्ठको जन्मोत्सवको अवसर पारेर झापाको बिर्तामोड- ५ मुक्तिचोक काँकडभिट्टा रोडमा होटल हिकोला हेरिटेज प्रालि स्थापना गरेको र उक्त होटल तत्कालीन पर्यटन मन्त्री कृपासुर शेर्पाले उद्घाटन गरेको बताए।
होटलको स्थापनादेखि हालसम्मको यात्रा र आगामी योजनाबारे जानकारी दिंदै उनले १२ वर्षको यात्रामा सेवाग्राही, अतिथि, पर्यटक, व्यवसायी, शुभेच्छुक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्व र कर्मचारीबाट प्राप्त सहयोगले होटललाई यहाँसम्म ल्याएको बताए।
पूर्वी नेपालको पर्यटन प्रवर्द्धनलाई व्यावसायिक गतिविधिसँग मात्र सीमित नराखी स्थानीय कला, संस्कृति र सिर्जनासँग जोडेर अघि बढाउने योजना बनाएको बताउँदै उनले पर्यटनसँगै साहित्य, संगीत र कलालाई जोड्दै अघि बढ्ने अभियानले पूर्वी नेपालको मौलिक संस्कृति, सिर्जना र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने जनाए।
उनले १३औँ वर्षमा प्रवेशसँगै होटल हिकोला हेरिटेजले सेवा गुणस्तर, स्वच्छता, आतिथ्य सत्कार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुका साथै स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन, पर्यटन विकास र रोजगारी सिर्जनामा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको बताए।
१३ औं बर्ष प्रवेशको अवसरमा होटल हिकोला हेरिटेजले नियमित तथा नयाँ ग्राहकलाई लक्षित गरी एक महिनासम्म विशेष छुट तथा विभिन्न सुविधा उपलब्ध गराउने सञ्चालक श्रेष्ठले बताए।
होटल हिकोला हेरिटेज प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले पर्यटन प्रवर्द्धनमा होटल हिकोला हेरिटेजको भूमिका, काँकरभिट्टामा शाखा विस्तारको विषय, शाखासँग सम्बन्धित वर्तमान कानुनी अवस्था तथा पूर्वी नेपालको पर्यटन विकासमा साहित्य, संगीत र कलाको भूमिकाबारे समेत प्रकाश पार्दै १२ वर्षको यात्रामा होटलले सेवाग्राही, अतिथि, शुभेच्छुक, शुभचिन्तक, पर्यटक, व्यवसायी, सामाजिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्व र कर्मचारीहरूको निरन्तर साथ तथा सहयोग प्राप्त गरेको जनाए।
उनले १३औँ वर्ष प्रवेशको अवसरमा आफ्नो यात्रामा प्रत्यक्ष तथा परोक्ष रूपमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा कृतज्ञता व्यक्त गर्ने कार्यक्रमसमेत राखेको बताए।
उनले दुई सत्रमा हुने वार्षिकोत्सवमा पहिलो सत्रमा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाको प्रमुख आतिथ्यमा पर्यटन प्रवर्द्धनमा भाषा, साहित्य, संगीत , कला, संस्कृति, परम्पराको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न विज्ञ व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गर्ने बताए।
सोहि कार्यक्रममा होटल हिकोला हेरिटेजको यात्रामा प्रत्यक्ष वा परोक्ष रूपमा योगदान पुर्याउने उत्कृष्ट कर्मचारी, सेवाग्राही तथा ग्राहक, विशिष्ट अतिथि र सहयोगी व्यक्तित्वलाई सम्मान गरिने उनले बताए।
त्यस्तै साहित्य चौतारीका मानार्थ सल्लाहकार अभिनन्दित ब्यक्तित्व जीवन अधिकारीको प्रमुख आतिथ्यमा हुने सम्मान तथा सांगीतिक कार्यक्रममा साहित्य, संगीत तथा कला क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई पनि सम्मान गरिने उनले जानकारी दिए।
उक्त कार्यक्रममा भारत शिलगढी दार्जीलिङ निवासी चर्चित गायिका जुनु गौतम र सरगम संगीतालय बिर्तामोडलाई सम्मान गरिने सञ्चालक श्रेष्ठको भनाई छ।
सोही कार्यक्रममा साहित्य चौतारीका संस्थापक प्रमुख अतिथि, अभिनन्दित ब्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको छैठौं स्मृति दिवस, अन्तर्राष्ट्रिय भारतवर्ष दार्जिलिङमा र सिलिगुडीमा रहेर नेपाली भाषा साहित्य संगीत कला संस्कृति परम्परा काे श्रीवृद्धिमा समर्पित गायक अशोक राई र अग्रज सर्जक दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका अजर अमर सिर्जना प्रस्तुती मार्फत समवेदना प्रकट गरिने उनले बताए।कार्यक्रममा साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहने उनको भनाई छ।
होटल हिकोला हेरिटेजले १३औँ वर्षमा प्रवेशसँगै आगामी दिनमा सेवा गुणस्तर, स्वच्छता, अतिथ्य सत्कार, ग्राहक सन्तुष्टि, पर्यटन प्रवर्द्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई अझ प्राथमिकताका साथ अघि बढाउने होटल हिकोला हेरिटेजका सञ्चालक गौरब श्रेष्ठले बताए।
कार्यक्रममा साहित्य चौतारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङ, सचिव तुलसीप्रसाद निरौला, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सल्लाहकार अनिरुद्र ओली, होटल हिकोला हेरिटेजका म्लयानेजर विवेक बराल लगायतले होटल हिकोला हेरिटेजको १३औँ वर्ष प्रवेशले केवल एउटा व्यावसायिक संस्थाको वार्षिकोत्सवलाई मात्र प्रतिनिधित्व नगरी पूर्वी नेपालको पर्यटनलाई साहित्य, संगीत, कला र मौलिक संस्कृतिसँग जोडेर प्रवर्द्धन गर्ने अभियानलाई समेत थप ऊर्जा दिने बताए। उनीहरूले होटल हिकोला हेरिटेज प्रालि १२ वर्ष पूरा गरी १३औँ वर्ष प्रवेशको वार्षिकोत्सवमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन्।




















