बिर्तामोड। सुजुकी कम्पनीको नेपालका लागी आधिकारिक बिक्रेता भिजी अटो मोबाइल्स प्रालि र सुजुकी कम्पनीको बिर्तामोडका लागी आधिकारिक बिक्रेता बिर्तामोड–४ स्थित सञ्जीव ओम अटो प्लाजाको आयोजनामा निजी ग्यारेज तथा रिकन्डिसन सञ्चालक मिट कार्यक्रम सम्पन्न भएको छ।
सुजुकी मोटरसाइकलको बिक्रीपछिको सेवा, प्राविधिक ज्ञान तथा ग्राहक सेवासँग सम्बन्धित विषयमा निजी क्षेत्रमा काम गरिरहेका ग्यारेज तथा रिकन्डिसन व्यवसायी र मेकानिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सञ्जीव ओम अटो प्लाजाका सञ्चालक ओमप्रकाश श्रेष्ठले बताए।
सञ्जीव ओम अटो प्लाजाका सञ्चालक ओमप्रकाश श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सञ्जीव ओम अटो प्लाजाका सञ्चालक ओमप्रकाश श्रेष्ठले स्वागत तथा औचित्यमाथी प्रकाश पारेका थिए।
सुजुकी मोटरसाइकलको बजार विस्तारसँगै ग्राहकको संख्या बढ्दै जाँदा आधिकारिक सेवा केन्द्रबाहेक निजी क्षेत्रमा सञ्चालनमा रहेका ग्यारेज तथा मेकानिक पनि ग्राहक सेवाको महत्वपूर्ण हिस्सा बनेकाले निजी ग्यारेज तथा रिकन्डिसन व्यवसायी र मेकानिकसँग समन्वय र सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्जीव ओम अटो प्लाजाका सञ्चालक मुक्तिनाथ गौतमले बताए ।
उनले सुजुकी मोटरसाइकलको बिक्री, सेवा र बजारमा संलग्न व्यवसायीबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास गरे।
निजी ग्यारेज तथा रिकन्डिसन सञ्चालकलाई कम्पनीका उत्पादन र प्राविधिक पक्षबारे थप जानकारी उपलब्ध गराउँदा ग्राहकलाई मोटरसाइकल मर्मत तथा सेवा लिन सहज हुने उनको भनाई छ।
बिर्तामोडसहित आसपासका क्षेत्रका ५५ जनाभन्दा बढी निजी ग्यारेज तथा रिकन्डिसन हाउस सञ्चालक र मेकानिक सहभागी भएको कार्यक्रममा भिजी अटो मोबाइल्स प्रालिका सर्भिस प्रमुख कल्याण दवाडीले सुजुकी मोटरसाइकलको प्राविधिक पक्ष, मर्मतसम्भार, सेवा प्रवाह तथा ग्राहकलाई प्रदान गरिने सेवाका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा भिजी अटो मोबाइल्स प्रालिका सेल्स हेड सुवास क्षेत्री, रिजनल म्यानेजर दिवाकर कार्की, सेल्स ईञ्चार्ज गोपाल सुवेदीलगायतले निजी ग्यारेज र रिकन्डिसन व्यवसायमा संलग्न जनशक्तिसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, जिज्ञासा र व्यावसायिक आवश्यकताबारे समेत छलफल गरेका थिए।
कार्यक्रमका सहभागीले मोटरसाइकल व्यवसायमा बिक्रीसँगै बिक्रीपछिको सेवा र प्राविधिक दक्षताको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
उनीहरूले निजी ग्यारेज तथा रिकन्डिसन हाउसमा कार्यरत मेकानिकलाई नयाँ प्रविधि, मोटरसाइकलका प्राविधिक पक्ष र मर्मतसम्भारसम्बन्धी जानकारी गराएका थिए।
कार्यक्रममा वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठ, नेपाल मेकानिकल ट्रेड युनियन बिर्तामोडका कार्यवाहक अध्यक्ष अमिर खानलगायतको सहभागीता रहेको थियो।
कार्यक्रमको सञ्चालन सञ्जीव ओम अटो प्लाजाका सञ्चालक ओमप्रकाश श्रेष्ठले गरेका थिए।




















