बिर्तामोड। वैदेशिक रोजगार व्यवसायी संघ झापाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।
  वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा संस्थाका अध्यक्ष धनबहादुर पन्धाकले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

  उनले  वैदेशिक रोजगार व्यवसायी संघ झापाको गठन गर्नुको उदेश्य, वैदेशिक रोजगार व्यवसायका अवसर, चुनौति, नीति  कार्यक्रम तथा भावी योजना, सामाजिक तथा सेवामुलक कार्यक्रमलगायतका विषय समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
   उनले गैरमेनपावरजन्य व्यवसायिक संस्थाका कारण वैदेशिक रोजगार असुरक्षित बन्दै गएको बताए।
 ब्युटीपार्लर, कन्सल्टेन्सी, तालिम केन्द्रलगायतका संस्थाले कानुनी प्रक्रिया पूरा नगरी वा गैरसंस्थागत माध्यमबाट वैदेशिक रोजगारीमा पठाउँदा समस्या उत्पन्न हुने र त्यसको मार मेनपावर व्यवसायीहरुमा पर्ने गरेको बताउँदै उनले
त्यसरी वैदेशिक रोजगारीमा जाँदा श्रमिकको आप्रवासनको वास्तविक विवरण, गन्तव्य मुलुक, रोजगारदाता, रोजगार सम्झौता तथा सुरक्षा सम्बन्धी जानकारी प्राप्त गर्न कठिन हुने जनाए ।     

   गैरसंस्थागत माध्यमबाट वैदेशिक रोजगारमा जाँदा श्रमिक समस्यामा परेको अवस्थामा उद्धार, कानुनी सहायता तथा क्षतिपूर्तिमा समेत समस्या हुने उनको भनाई छ।
   वैदेशिक रोजगार व्यवसायी संघको स्थापना मेनपावर व्यवसायीहरूबीच एकता कायम गर्दै सदस्य संस्थाहरुको हकहित संरक्षण तथा व्यवसायलाई सुरक्षित, मर्यादित, व्यवस्थित र उत्तरदायी बनाउन सहजीकरण गर्ने उदेश्यले वैदेशिक रोजगार व्यवसायी संघको स्थापना गरि॓एको बताउँदै उनले झापाका १२७ वटा मेनपावर सदस्य रहेको वैदेशिक रोजगार व्यवसायी संघ झापाले  रक्तदान, वाढीपिडितलाई सहयोग, जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनी जस्ता कार्यहरुमा साथ र सहयोगलगायतका कार्य गर्दै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको जानकारी दिए।  
    कार्यक्रममा प्रमुख अतिथी  संग्रौला,  नेपाल पत्रकार महासंघ झापा सचिव प्रदिप परियार, ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठक, बिर्तामोड-१ का बडा सदस्य योगचन्द्र आङ्वोहाङलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

   उनीहरुले म्यानपावर कम्पनीले वैदेशिक रोजगार मात्र नभएर देशमै युवाहरुलाई रोजगारसमेत दिएको बताएका थिए ।

कार्यक्रममा नेपालीहरूको महान पर्व दशैं तिहार, छठ लगायतको शुभकामना आदान प्रदान समेत गरिएको संघका कोषाध्यक्ष कृष्ण खतिवडाले जानकारी दिए।
   कार्यक्रमको सञ्चालन संघका प्रवक्ता ओमप्रकाश भट्टराई र महासचिव निरकुमार खत्री निरनले गरेका थिए।