बिर्तामोड । पछिल्लो समय बिबाह भड्किलो बन्दै गइरहेको छ । ठूला तारे होटलमा भव्य बिहे भोज, टन्न दाइजो,  खर्चिलो तडकभडकले बिबाहलाई भड्किलो बनाउँदै लगेको छ ।

हुनेखाने वर्गको देखासिखी गर्ने बानीले हुँदा खाने वर्गलाई बिबाह गलाको पासो बनेको छ । बिबाह सामान्य ढंगले पनि गर्न सकिन्छ ।  बिबाहमा गरिने खर्चले सामाजिक कार्य पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् झापा बिर्तामोड निवासी देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठ ।

उनीहरुले आफ्ना ज्येष्ठ सुपुत्र गौरव श्रेष्ठको बिबाह वैदिक सनातन परम्परा, धार्मिक आस्था, पारिवारिक संस्कार र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सामान्य ढंगले अर्जुनधारा धाममा गरेर , बिबाहको भोजभतेरमा गरिने खर्च परोपकारी कार्यमा खर्चने उद्घोष गरे । 

बिर्तामोडस्थित होटल हिकोला हेरिटेजका संस्थापक तथा प्रबन्ध निर्देशक, साहित्य चौतारी बिर्तामोड झापा नेपालका प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष, नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका अध्यक्ष , मित्र मेलवा गुरुकूल संगीत विद्यालयका सञ्चालक  देवीभक्त श्रेष्ठ र साहित्य चौतारी बिर्तामोड झापा नेपालकी  संस्थापक संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले अर्जुनधारा जलेश्वरधामस्थित शिवालय मन्दिरमा वैदिक तथा परम्परागत विधिअनुसार ज्येष्ठ सुपुत्र होटल हिकोला हेरिटेजका सञ्चालक , साहित्य चौतारी बिर्तामोड झापा नेपालका सह संरक्षक तथा महासचिव गौरव श्रेष्ठ र कार्यक्रम सञ्चालिका आशा गुरुङ श्रेष्ठबीच  बैवाहिक संस्कार सम्पन्न गरी  नवदम्पतीलाई स्वागत गर्दै  पुत्रवधूका रूपमा आशा गुरुङ श्रेष्ठलाई  श्रेष्ठ परिवारमा स्वागत गरिएको थियो । 

अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्निप्रसाद सिग्देलको सल्लाह तथा अर्जुनधारा विद्यापीठ गुरुकुल संस्कृत विद्यालयका प्राचार्य तथा श्रेष्ठ परिवारका  कुलगुरु हेमन्त भण्डारी, तथा आचार्य, चिरञ्जीवी ढुङ्गाना लगायतको सहभागितामा अर्जुनधारा जलेश्वरधामस्थित शिवालय मन्दिरमा वैदिक तथा परम्परागत विधिअनुसार वैवाहिक कर्म सम्पन्न गरिएको थियो ।

वैदिक परम्परा अनुसार  पूजाआजा, आरती, सिन्दूरदान, आशीर्वाद ग्रहण, उपहार प्रदान तथा मन्दिर परिक्रमा लगायतका संस्कारहरू पूरा गरि नवविवाहित श्रेष्ठ दम्पत्तिले गणेश, लक्ष्मीनारायण, हनुमान, शिव र पार्वतीका मन्दिरहरूको परिक्रमा तथा पूजापश्चात् शनिश्चरे बजारको ऐतिहासिक दुर्गा मन्दिर पुगी मन्दिरका अध्यक्ष कमल प्रधान, धाम परिवारका सदस्यहरू, विभिन्न समुदायका प्रतिनिधि तथा उपस्थित श्रद्धालुहरूबाट आशीर्वाद प्राप्त गरेका थिए।

छोराको बिबाहको कर्म पूरा गर्दै देवीभक्त श्रेष्ठले भने – मेरा लागि आजको दिन केवल छोराको विवाह सम्पन्न भएको दिन होइन यो नयाँ सम्बन्धलाई सम्मान गर्ने, नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने र आफ्नो जीवनका मूल्य–मान्यतालाई व्यवहारमा उतार्ने एउटा महत्त्वपूर्ण अवसर पनि हो। आफू तडकभडकसहितको बिबाहको पक्षमा नरहेको बताउँदै उनले भने – मेरा लागि विवाहको अर्थ ठूलो भीड, भव्य भोजभतेर र प्रदर्शनमा मात्र सीमित छैन। विवाहको वास्तविक सफलता त्यसपछिको जीवनमा देखिन्छ—एकअर्काप्रतिको सम्मान, विश्वास, पारदर्शिता, इमानदारी, जिम्मेवारी र सुखदुःखमा सहयात्रा गर्ने प्रतिबद्धतामा। 

छोरा बुहारीलाई वैवाहिक सफलताको सन्देश दिँदै उनले भने – गौरव र आशा, तिमीहरूलाई मेरो पितृसुलभ सन्देश छ—प्रेमलाई सम्मानमा, सम्मानलाई विश्वासमा र विश्वासलाई व्यवहारमा रूपान्तरण गर्नु। घरपरिवार, आफन्त, समाज र आफूले निर्वाह गर्नुपर्ने दायित्वप्रति सचेत रहनु। आर्थिक व्यवहार पारदर्शी राख्नु, निर्णयहरू आपसी समझदारीमा गर्नु र मतभेदलाई संवादबाट समाधान गर्नु। सम्पत्ति र सुविधाभन्दा सम्बन्ध ठूलो हुन्छस अधिकारभन्दा कर्तव्य महत्त्वपूर्ण हुन्छ र वचनभन्दा व्यवहार बलियो हुन्छ। तिमीहरूको वैवाहिक जीवन यी मूल्यहरूमा आधारित रहोस्।

 विवाहको यो शुभ अवसरलाई स्मरणीय र सामाजिक हितमा समर्पित गर्ने उद्देश्यले श्रेष्ठ परिवारले अर्जुनधारा जलेश्वरधामदेखि पूर्वतर्फ रहेको पुरानो दुर्गा मन्दिरको प्रवेशद्वारबाहिर सर्वसाधारणका लागि निःशुल्क पिउने पानीको जोर धारा स्थापना गर्ने घोषणा गरेका छन् ।

सर्वसाधारणका लागि निःशुल्क पिउने पानीको जोर धारा स्थापना गर्ने घोषणा गर्दै देवीभक्त श्रेष्ठले भने –विवाहको यो शुभ अवसरलाई स्मरणीय बनाउने क्रममा हामीले अर्जुनधारा जलेश्वरधामदेखि पूर्वतर्फ रहेको पुरानो दुर्गा मन्दिरको प्रवेशद्वारबाहिर सर्वसाधारणले सहज रूपमा पिउने पानी प्राप्त गर्न सक्ने गरी निःशुल्क पानीको धारा स्थापना गर्ने घोषणा गरेका छौँ। मन्दिर परिसरभित्र प्रवेश गर्न नसक्ने वा बाहिरबाटै पानी आवश्यक पर्ने यात्रु, भक्तजन तथा सर्वसाधारणले समेत पानी पिउन पाऊन् भन्ने मानवीय भावनाले यो कार्य अघि बढाइएको हो। यसका लागि आवश्यक स्थान निश्चित गरी धारा जडानको खर्च बेहोर्ने तथा पानीको नियमित महसुल भुक्तानीका लागि अक्षयकोषको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ। मेरो विचारमा विवाहको शुभ अवसरमा गरिने सबैभन्दा सुन्दर कार्यमध्ये एउटा यस्तो कार्य हो, जसबाट नवदम्पतीको जीवनको शुभारम्भसँगै अरू मानिसको जीवनमा पनि सुविधा, सहजता र खुसी थपियोस्।

बैवाहिक कार्यक्रममा पिता देवीभक्त श्रेष्ठ , माता उर्मिला बिमली श्रेष्ठ, कनिष्ठ सुपुत्र गर्व श्रेष्ठ, मनोज श्रेष्ठ र लक्ष्मी श्रेष्ठ , मामाघर पक्षका नेत्र बिमली, सुशीला बिमली, होटल हिकोला हेरिटेजका म्यानेजर विवेक बराल र क्याप्टेन इन्द्र महरा, साहित्य चौतारीका उपाध्यक्ष हिम्मत  नेम्बाङ, कोषाध्यक्ष भवानीप्रसाद गौतम ,सह कोषाध्यक्ष कुमार कृष्ण श्रेष्ठ, कानुनी सल्लाहकार कृष्ण पौडेल, र प्रेस सल्लाहकार भरत भावुक प्रसाईं , प्रविधिमार्फत अष्ट्रेलियाको सिड्नीबाट देवीभक्त श्रेष्ठका छोरीहरू मनीता श्रेष्ठ र स्वस्तिका श्रेष्ठ तथा अमेरिकाबाट करुणा श्रेष्ठ र वर्षा श्रेष्ठसमेतले नवदम्पत्तिलाई आशीर्वाद दिएका थिए । 

यसै शुभ अवसरमा श्रेष्ठले आफ्ना पितृदेवहरू, अग्रज अभिभावकहरू, कुलपरम्परा, कुलगुरु तथा आचार्यहरूप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्दै नवदम्पतीको सुस्वास्थ्य, दीर्घायु, आपसी प्रेम र निरन्तर उन्नतिको कामना गरेका छन् ।  साथै, हिकोला, साहित्य चौतारी, मित्रमेलवा गुरुकुल सङ्गीत विद्यालय तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश लगायतका संस्थागत परिवार र शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि इमानदारी, पारदर्शिता र मानवसेवाको मार्गमा अघि बढिरहने प्रतिबद्धता जनाएका छन् । 

सोही अवसरमा देवीभक्त श्रेष्ठले विजयादशमी, नवरात्र, दीपावली, छठ लगायतका सम्पूर्ण चाडपर्वहरूमा देश(विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै पितृस्मरण र विश्वशान्तिको प्रार्थना गरेका छन् । २०८२ सालको जेन्जी आन्दोलनदेखि त्यसपछिका घटनाक्रमसम्म भएका जनधनका क्षति, मानवीय पीडा र सामाजिक असहजताप्रति गहिरो दुःख व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो र आगामी दिनमा कुनै पनि अभियान वा परिवर्तनको नाममा जनधनको क्षति नहोस् भन्ने कामना गरेका छन् । 

छोटो समयभित्र आकस्मिक रूपमा निर्णय गरी विवाह कार्य सम्पन्न गर्नुपरेकाले सम्पूर्ण आफन्त, इष्टमित्र, सहकर्मी तथा शुभचिन्तकहरूलाई पूर्वसूचना दिई औपचारिक निमन्त्रणा गर्न नसकिएकोमा श्रेष्ठले विनम्रतापूर्वक क्षमायाचना गर्दै उनले निमन्त्रणा गर्न नसक्नु परिस्थितिजन्य बाध्यता भएकाले यस सार्वजनिक सन्देशमार्फत जानकारी लिई जहाँ हुनुहुन्छ त्यहीँबाट नवदम्पती गौरव श्रेष्ठ तथा आशा गुरुङ श्रेष्ठलाई स्नेह, शुभकामना र आशीर्वाद प्रदान गरिदिनुहुन उनले हार्दिक अनुरोध गरेका छन् ।