बिर्तामोड। केही वर्षअघि निर्माण गरिएको बिर्तामोडको अतिथिसदनबाट शनिश्चरे रोड जाने सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ।
उक्त सडकमा बनेका स–साना खाल्डा समयमै नपुर्दा त्यहाँ दुर्घटनाको जोखिम बढेको हो।
सयौं सवारी गुड्ने सडक माझ जोकोहीले पनि सहजै देखिने त्यस्ता खाल्डा पुर्न सम्बन्धित निकायले चासो नदेखाएपछि समाजसेबी शेरबहादुर थापा त्यस्ता खाल्डाखुल्डी पुर्न होमिएका छन्।
बिर्तामोडको अतिथिसदनबाट शनिश्चरे रोड जाने सडकमा खाल्डाखुल्डी भएका कारण आफैंपनि झण्डै दुर्घटनामा परेकाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त खाल्डाखुल्डी पुरेको समाजसेबी शेरबहादुर थापाले बताए।
मजदुरसहित बालुवा, गिट्टी, सिमेन्ट बोकेर हिंडेका उनले सहायक सडकखण्डमा रहेका खाल्डाखुल्डी पुर्ने बताए।
उनले भने- ‘आफ्नै सुरमा गाडी हाँक्दै गर्दा अचानक खाल्डो भेटिने र झट्ट मोड्न खोज्दा दुर्घटनाको जोखिम रहने भएकाले कोहीपनि दुर्घटनामा नपरून् भनेर सडकमा देखिएका खाल्डाखुल्डी पुर्न थालेको हुॅ ।’
सडकमा कतै पानीका कारण त कतै ‘हेभिलोड’ का सवारीका कारण सडकमा खाल्डाखुल्डी परेकाले त्यस्ता खाल्डाखुल्डी पुर्ने काम स्थानीय निकाय र सडक विभागको भएपनि कसैले पनि सडकमा रहेका खाल्डाखुल्डी नपुरेपछि अतिथिसदनको इज्जत र सौन्दर्य खस्कन नदिन आफूले खाल्डाखुल्डी पुरेको समाजसेवी थापा बताउँछन्।
निर्माण व्यवसायी समेत रहेका थापाले सडकको खाल्डाखुल्डी पुर्ने काम सडक कालोपत्रे गर्ने ठेकेदारको उत्तरदायित्व भएपनि उनीहरूले चासो नदेखाएकाले आफूले उक्त सडक कालोपत्रे नगरेपनि सम्भावित दुर्घटनाबाट सबैलाई बचाउन खाल्डाखुल्डी पुरेको उनको भनाई छ।
समाजसेवी थापाले गरेको कामको स्थानीयवासीले मुक्तकण्ठले प्रशंसा गरेका छन्।




















