बिर्तामोडक्षितिज नाट्य समूह झापाको केन्द्रीय अध्यक्षमा माधवप्रसाद खतिवडा कल्पित निर्वाचित भएका छन्।
  क्षितिज नाट्य समूह झापाको केन्द्रीय नवौं महाधिवेसन तथा बार्षिक साधारण सभाले खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
  नवनिर्वाचित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, उपाध्यक्ष सुजना खतिवडा, महासचिव  गजेन्द्र  खतिवडा पृथक , सचिव राजकुमार भट्टराई, कोषाध्यक्ष मुना प्रसाईं रहेका छन्।
   त्यस्तै केन्द्रीय सदस्यहरूमा पितमकुमार धमला, भिमा खतिवडा, सावित्रादेवी राजवंशी, युवराज चुडाल, मदन विश्वकर्मा रहेका छन्। बांकी सदस्य पछि मनोनित गरिने बताईएको छ ।
  त्यस्तै क्षितिज साहित्य बिभागको अध्यक्षमा तुलसीप्रसाद भट्टराई, उपाध्यक्ष दुर्गाप्रसाद सिग्देल, डिल्लीराम परदेशी, नाट्य विभाग अध्यक्ष पुर्णिमा विश्वकर्मा, उपाध्यक्ष सृष्टी आचार्य, महासचिव विवेक मिश्र, सचिव समिक्षा खतिवडा,कोषाध्यक्ष दीपा शिवाकोटी र सदस्यहरू आर्जु पौडेल, राकेश दर्नाल र प्रज्जवल भट्टराई रहेका छन्।
  त्यस्तै संगीत विभाग अध्यक्ष माधवप्रसाद सिटौला, महासचिव सुजन शिवाकोटी रहेका छन्।
   नृत्य विभाग महासचिव दीलकुमार लिम्बु, नौमती बाजा संयोजक देवीमाया प्रसाई, चलचित्र विभाग संयोजक सविता रेग्मी, उपत्यका सम्पर्क समिति संयोजक दिवाकरमानसिंह बस्नेत, अनुसन्धान तथा प्रशिक्षण विभाग प्रमुख ताराप्रकाश भट्टराई, योग, अध्यात्म तथा सांस्कृतिक विभागको संयोजकमा कुमार ढकाल रहेका छन्।
  निर्वाचन सम्पन्न गर्न साहित्यकार प्रयागराज न्यौपाने संयोजक र बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला र प्राध्यापक बिमला पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
   क्षितिज नाट्य समूह झापाको केन्द्रीय अध्यक्ष माधव कल्पितको अध्यक्षता तथा अग्रज साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नाट्य विभाग प्रमुख गजेन्द्र पृथकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वालकलाकार आशुतोष भट्टराईले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
   कार्यक्रममा संस्थाका अध्यक्ष माधव कल्पितले बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजनाबारे जानकारी गराएका थिए।
  कार्यक्रममा १०६ पटक रक्तदान गर्ने ओमप्रकाश लुईंटेललाई सम्मान गरिएको थियो।
  कार्यक्रममा प्राध्यापक नविन ओली,
बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकी, नागरिक बचाउ महाअभियानका मेचीका संयोजक मधुर सिटौला, बिर्तामोड-१ का वडासदस्य टेकबहादुर अधिकारीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यकार प्रयागराज न्यौपाने, तुलसीप्रसाद निरौला, कृष्णप्रसाद पोखरेल ,लगायतले साहित्यिक रचना बाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन क्षितिज साहित्य समूहका अध्यक्ष तुलसीप्रसाद भट्टराईले गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कल्पितले आगामी दिनमा झापा नाट्य समूहलाई नयाँ उचाईमा पुर्याउने बताएका थिए।  उनले २०५८ सालमा स्थापित क्षितिज नाट्य समूहले दुई दशकभन्दा लामो यात्रामा नेपाली नाट्य तथा सांस्कृतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको र यसले  सडक नाटक, मञ्च नाटक, सामाजिक सचेतना, साहित्य, संगीत तथा नृत्यका माध्यमबाट  आफ्नो गतिविधिलाई विस्तार गर्दै आएको बताए।
बिर्तामोड–१, झापामा केन्द्रीय कार्यालय रहेको संस्थाले  बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानलाई समेट्ने उद्देश्यसहित ‘एक इँटा अभियान’मार्फत सर्वसाधारणको सहभागिता जुटाउँदै अघि बढाइएको झापा नाटक घर निर्माण अभियान मार्फत संस्थालाई रंगमञ्चीय गतिविधिसँगै सांस्कृतिक पूर्वाधार निर्माणतर्फ समेत जोडेको उनले बताए।
लामो समयदेखि नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नेतृत्व गर्दै आएका संस्थाका अध्यक्ष  कल्पितले आफ्नो नेतृत्वमा  नाट्य गतिविधिलाई संस्थागत बनाउँदै झापा नाटकघर निर्माणको अभियान अन्तिम चरणमा पुर्याएको जनाए।
नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै २०२६ मार्चमा भियतनामको दा नाङ फाइन आर्ट एशोसिएसनले आफूलाई सम्मान समेत गरेको बताउँदै उनले यो सम्मानले आफूलाई अझ अघि बढ्ने प्रेरणा दिएको जनाए।
नवौँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै  क्षितिज नाट्य समूह झापालाई   क्षितिज नाट्य प्रतिष्ठान बनाउने र  आफ्नो संस्थागत यात्रालाई थप व्यवस्थित बनाउँदै नेपाली रंगमञ्च, साहित्य, संगीत, नृत्य, चलचित्र तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने उनले बताए।
२०५८ सालदेखि नै नेतृत्वको जिम्मेवारी पाएका  कल्पितले यस कार्यकाल विगतको संस्थागत यात्रालाई थप मजबुत बनाउँदै क्षितिज नाट्य प्रतिष्ठानलाई राष्ट्रिय  रंगमञ्चको प्रभावशाली संस्थाका रूपमा स्थापित गर्ने अवसरका रूपमा लिएको बताए।  क्षितिजको आगामी यात्रा अब रंगमञ्चीय सिर्जनासँगै नेपाली कला,संस्कृतिको संरक्षण, पुस्तान्तरण र संस्थागत विकासतर्फ केन्द्रित हुने उनको भनाई छ।
नवनिर्वाचित समितिलाई साहित्यकार डीपी शर्मालगायतले सफल कार्यकालको शुभकामना दिएका थिए।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने निर्वाचन समितिका पदाधिकारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
बन्दसत्र कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य तुलसीप्रसाद निरौलाले गरेका थिए।