बिर्तामोड। मैनाली समाज नेपाल जिल्ला कार्यसमिति झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिर्तामोड उद्योग वाणिज्य संघ र चिल्ड्रेन हस्पिटल बिर्तामोडको सहकार्यमा रक्तदान कार्यक्रम भएको मैनाली समाज नेपालका केन्द्रीय सचिव डिल्लीराम मैनालीले जानकारी दिए। कार्यक्रममा १३ जना महिलासहित ६५ जनाले रक्तदान गरेको उनले बताए।
मैनाली समाज नेपाल जिल्ला कार्यसमिति झापाकी अध्यक्ष रेनुका मैनालीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्यमाथी कार्यक्रम संयोजक डा. लक्ष्मीप्रसाद मैनालीले प्रकाश पारेका थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले रक्तदानको महत्वबारे बताएका थिए भने मैनाली समाज नेपालका केन्द्रीय उपाध्यक्ष मिनप्रकाश मैनालीले समाजको गतिविधिबारे बताएका थिए।
मैनाली समाज नेपाल जिल्ला कार्यसमिति झापाले प्रत्येक वर्ष रक्तदान र तीजमिलन कार्यक्रम गर्दै आएकोमा यसबर्ष भोटेकोशीमा आएको बाढीबाट प्रभावित बनेकाहरूलाई सहयोग स्वरूप एक लाख ५१ हजार रूपैयाँ मैनाली समाज नेपाल केन्द्रीय समितिमार्फत पठाएको मैनाली समाज नेपाल जिल्ला कार्यसमिति झापाकी अध्यक्ष रेनुका मैनालीले बताइन्।
उनले यसबर्ष तीजमा गरिने खर्च रसुवाका वाढीपीडितहरूलाई पठाएको बताउँदै आफूहरूले संस्थामार्फत सामाजिक तथा मानवीय कार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन्।
कार्यक्रमको सञ्चालन मैनाली समाज नेपाल जिल्ला कार्यसमिति झापाका सचिव खगेन्द्र मैनालीले गरेका थिए।




















