बिर्तामोड । वीरता जेसीजले रसुवा जिल्ला तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागी दुई लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ।
वीरता जेसीजका जनसम्पर्क अधिकारी तथा राहत अभियान संयोजक अजय चौधरीको संयोजकत्वमा संकलित उक्त रकम वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले विपद्को कठिन घडीमा पीडित नागरिकहरूको सहयोगार्थ सक्रिय भई राहत संकलन गर्ने वीरता जेसीज, सम्पूर्ण दाताहरू तथा अभियानमा संलग्न सबैप्रति नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरे । उनले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपद्बाट प्रभावित नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले प्राकृतिक विपत्तिको समयमा पीडितहरूको साथमा उभिनु नै सामाजिक संस्थाहरूको दायित्व भएको उल्लेख गर्दै अभियानमा सहयोग पुर्याउनुहुने सम्पूर्ण पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे ।
"मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने भावनाका साथ सञ्चालन गरिएको उक्त अभियानबाट संकलित रकम विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास लिइएको उनको भनाई छ। उनले वीरता जेसीजले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा सिनेटर विशाल थापा, सिनेटर घनश्याम चौधरी , पूर्व अध्यक्ष बिकास बस्नेत, जीवनकुमार खड्का लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव सुवास तिखत्रीले गरेका थिए।




















