बिर्तामोड। झापाको बिर्तामोड-१ मा रहेको चिल्ड्रेन ईन्भारोमेन्ट स्कुलमा तीन दिवसीय प्रथम झापा जिल्ला स्तरीय 'योङ्ग आर्टिस्ट्स एक्टिङ्ग बुटक्याम्प ' शनिबारबाट शुरू भएको छ।
   विद्यालयको  सिइएस थियटर क्लबको आयोजना तथा छुनुमुनु थियटर काठमाडौको सहकार्यमा बिर्तामोड-१ स्थित चिल्ड्रेन ईन्भारोमेन्ट स्कुलमा शुरू भएको प्रथम  झापा जिल्ला स्तरीय 'योङ्ग आर्टिस्ट्स एक्टिङ्ग बुटक्याम्प ' को उद्घाटन  बरिष्ठ संगीतकार शिवशंकर थापाले गरेका थिए।
    भावनात्मक अभिनय कलाको माध्यमबाट बालबालिकाको आवाज, शरीर, अभिव्यक्ति, भाव, हाउभाउ र मञ्चीय उपस्थितिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउँदै उनिहरुमा रहेको सिर्जनशिलता, कल्पनाशक्ति र आत्मविश्वासलाई अघि बढाउने र उत्कृष्ट प्रतिभाहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चको यात्राका लागि तयार गर्ने  उद्देश्यले कार्यक्रमको आयोजना गरेको चिल्ड्रेन ईन्भारोमेन्ट स्कुलका प्रिन्सिपल सन्तोष सुव्वाले बताए।
  उनले  पुस्तकको पढाइले मात्र विद्यार्थीहरूमा ज्ञान भएर हुँदैन अतिरिक्त गतिविधिहरुमा पनि विद्यार्थीहरु अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ  चिल्ड्रेन ईन्भारोमेन्ट स्कुलले विभिन्न कार्यक्रम गर्दै आएको बताए।
   सिइएस थियटर क्लबकी अध्यक्ष रिदिमा पोखरेलको अध्यक्षता तथा बरिष्ठ संगीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिइएस थियटर क्लबकी सदस्य सृष्टी बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
   विद्यालयका शिक्षक अभिभावक संघका सदस्य याम खरेल लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरू अञ्जली न्यौपाने र प्रायुस आलेले नाटकीय कविता प्रस्तुत गरेका थिए।

  तीन दिवसीय कार्यक्रमको पहिलो दिन "बिद्यालयमा अभिनय शिक्षा बिषयक प्यानल डिस्कसन सम्पन्न भएको कार्यक्रम संयोजक थियटर प्रशिक्षक तथा लेखक/ निर्देशक दिनेशराज शर्माले बताए।     कार्यशालाको प्यानलिस्टको रुपमा प्रशिक्षक राजन भुजेल , झापाका अग्रज नाट्य कलाकार टंक बिकल्प, क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष अध्यक्ष माधव कल्पित,परिवर्तन थियटर मेचिनगरकी प्रशिक्षक तथा निर्देशक कबिता नेपाल, र कदम थियटर दमकका सञ्चालक कलाकार सुबाश चन्द्र खरेल रहेका थिए।
   प्यानल डिस्कसन कार्यक्रममा सहभागी वक्ताले विद्यार्थीहरूलाई अध्ययनबाट भन्दा नाटक अभिनयबाट छिटो बुझाउन सकिने बताएका थिए।
   त्यस्तै सहभागीहरूले झापा जिल्लामा नाटकको हिजोको अवस्था र आजको अवस्था र राज्यले हेर्ने दृष्टिकोण के कस्तो छ भन्ने विषयमा छलफल गरेका थिए।     हिजोको अवस्थामा रेडियो नाटकबाट नाटकको मनोरञ्जन लिने गरिएको हाल आएर वर्तमान अवस्थामा भने विभिन्न क्षेत्रमा थिएटरहरु सञ्चालन भएका र अहिले नेपाली चलचित्रको क्षेत्रमा पनि नाटककारहरूको बाहुल्य रहेको वक्ताहरूले प्रष्ट पारेका थिए।

  प्यानल डिस्कसनको सहजीकरण कवि,  सञ्चारकर्मी तथा ब्यक्तित्व बिकास प्रशिक्षक लिला अनमोलले गरेकी थिइन्।
    तीन दिवसीय प्रथम झापा जिल्ला स्तरीय 'योङ्ग आर्टिस्ट्स एक्टिङ्ग बुटक्याम्प ' मा थियटिकल आर्ट पढाइ हुने चिल्ड्रेन ईन्भारोमेन्ट स्कुल बिर्तामोड, ब्रिलियन्ट पुपिल्स स्कुल अर्जुनधारा,  कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कूल खुदुनाबारी, मेची इङ्लिस बोर्डिङ स्कूल माइधार, ध्रुवतारा आवासिय इङ्लिस स्कूल दुधे , न्युटन्स एजुकेसन एकाडेमी बिर्तामोड, एमिटी एजुकेसन फाउण्डेसन बिर्तामोड, श्री हरीकूल इङ्लिस स्कूललगायतका बिधार्थिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक थियटर प्रशिक्षक तथा लेखक/ निर्देशक दिनेशराज शर्माले बताए।
   आगामी भाद्र  २९ गतेसम्म संचालन हुने तीन दिवसीय प्रथम झापा जिल्ला स्तरीय 'योङ्ग आर्टिस्ट्स एक्टिङ्ग बुटक्याम्प ' को प्रमुख प्रशिक्षकमा छुनुमुनु थियटर काठमाडौंका निर्देशक तथा प्रशिक्षक राजन भुजेल रहेको उनले बताए।
   कार्यक्रमको सञ्चालन विद्यार्थी समता खरेलले गरेकी थिइन्।