बिर्तामोड। नेपाल शैक्षिक परामर्श संघ ईक्यानको आयोजना तथा ईक्यान झापाको आतिथ्यमा ईक्यान लिडर मिट ३.० को तयारी गरिएको छ।
नेपाल शैक्षिक परामर्श संघ ईक्यान केन्द्रीय द्वितिय सचिव तथा शाखा कोअर्डीनेटर आशिक कार्कीले आगामी असोज २ गतेदेखि असोज ४ गतेसम्म बिर्तामोडस्थित होटल किङ्सबेरीमा ईक्यान लिडर मिट ३.० हुने जानकारी दिए।
ईक्यानको केन्द्रीय नेतृत्व, देशभरका शाखा तथा समन्वय संरचनाका नेतृत्वलाई एउटै मञ्चमा ल्याएर संस्थागत सुदृढीकरण, नेतृत्व विकास, सुशासन र नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको आगामी दिशाबारे बहस गर्ने उद्देश्यले ईक्यान लिडर मिट ३.० को आयोजना गरेको बताउँदै उनले यसले ईक्यानको केन्द्रीय संरचना र क्षेत्रीय शाखाबीचको संस्थागत स्वामित्व, सहकार्य र नेतृत्व हस्तान्तरणको अभ्यासलाई समेत प्रतिविम्बित गरिने जनाए।
झापाको बिर्तामोडमा आयोजना हुने नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को तेस्रो संस्करणको ‘ईक्यान लिडर्स मिट ३.०’ मा देशभरबाट नेतृत्व तहका करिब एक ५० जना प्रतिनिधिको सहभागिता रहने ईक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
यसअघि पहिलो संस्करण ईक्यान चितवन शाखा र दोस्रो संस्करण ईक्यान मकवानपुर शाखाको आतिथ्यमा आयोजना भएको र यसपटक ईक्यान झापा शाखाले आतिथ्य गर्ने जिम्मेवारी पाएको उनले बताए।
कार्यक्रमलाई केवल नेतृत्वको भेला नभई ईक्यानको आगामी संस्थागत दिशा तय गर्ने रणनीतिक मञ्चका रूपमा अघि बढाउने तयारी गरिएको बताउँदै उनले ‘ईक्यान लिडर्स मिट ३.०’ मा नेतृत्व विकास, संस्थागत सुशासन, रणनीतिक सोच, वित्तीय व्यवस्थापन, सञ्चार सीप तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र गहन अन्तरक्रिया रहने जनाए ।
‘ईक्यान लिडर्स मिट ३.०’ मा ‘झापा घोषणापत्र’ जारी गरिने बताउँदै उनले झापा घोषणापत्रमार्फत ग्लोबल एजुकेसन मोबिलिटीमा नेपालको वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण रहने जानकारी दिए ।
झापा घोषणापत्रमा विद्यार्थी हित, नैतिक व्यावसायिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा सरकारसँगको नीतिगत संवादलगायत विषयलाई प्राथमिकतामा राखिने उनको भनाई छ ।
पछिल्लो समय विदेश अध्ययनका लागि नेपाली विद्यार्थीको संख्या, गन्तव्य मुलुकको शिक्षा तथा अध्यागमन नीतिमा भइरहेको परिवर्तन, डिजिटल प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्बन्ध विस्तारले नेपालको शैक्षिक परामर्श क्षेत्रलाई समेत तीव्र रूपमा परिवर्तन गरिरहेको र यस्तो अवस्थामा विद्यार्थीलाई विदेश अध्ययनका लागि परामर्श दिने परम्परागत भूमिकाभन्दा माथि उठेर विद्यार्थी, अभिभावक, नेपाली शैक्षिक संस्था, अन्तर्राष्ट्रिय विश्वविद्यालय, गन्तव्य मुलुकका निकाय तथा सरकारबीच जिम्मेवार र विश्वसनीय शैक्षिक सम्बन्ध निर्माण गर्ने संस्थागत भूमिका विकास गर्नुपर्ने आवश्यकता रहेको ईक्यान झापाका निर्वतमान अध्यक्ष रोशन सुवेदीले बताए ।
हाल ७ सय ५० भन्दा बढी सदस्य संस्था आबद्ध रहेको ईक्यानले देशका विभिन्न क्षेत्रमा शाखा तथा समन्वय संरचना विस्तार गरिसकेको र राजधानीकेन्द्रित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका गतिविधिलाई देशका विभिन्न प्रदेश, जिल्ला र शैक्षिक बजारसँग जोड्ने प्रयास गर्दै आएको उनले बताए।
‘ईक्यान लिडर्स मिट ३.०’ मा देशका विभिन्न भूगोलबाट आएका नेतृत्वबीच अनुभव आदानप्रदान, सफल अभ्यासको साझेदारी, संस्थागत सञ्जाल विस्तार तथा रणनीतिक समन्वयमा समेत छलफल हुने ईक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले बताए।
उनले ‘ईक्यान लिडर्स मिट ३.०’ ले ईक्यान केन्द्र र शाखाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै साझा प्राथमिकता, साझा जिम्मेवारी र साझा रणनीतिक दिशातर्फ संगठनलाई अघि बढाउन सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।
ईक्यानले पछिल्लो समय आफ्नो भूमिकालाई सदस्य संस्थाको व्यावसायिक हितको प्रतिनिधित्वमा मात्र सीमित नराखी नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको संस्थागत आवाज, व्यावसायिक मापदण्डको प्रवर्द्धन र नीतिगत संवादको महत्वपूर्ण साझेदारका रूपमा विकास गर्ने आवश्यकता महसुश गरेको र ‘ईक्यान लिडर्स मिट ३.०’ झापामा आयोजना हुनु अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र काठमाडौंमा मात्र सीमित नरहेको र प्रदेश तथा जिल्ला तहमा समेत यसको प्रभाव विस्तार भइरहेको सन्देश दिएको उनको भनाई छ।
कोशी प्रदेशमा अन्तर्राष्ट्रिय शिक्षा तथा शैक्षिक परामर्शको क्षेत्र विस्तार भइरहेका बेला देशभरका ईक्यान नेतृत्वलाई झापामा ल्याएर कार्यक्रम आयोजना गरिनुले यस क्षेत्रको शैक्षिक अवस्था, सम्भावना र चुनौतीबारे राष्ट्रिय नेतृत्वको ध्यानाकर्षण गराउने उनको भनाई छ ।
ईक्यान झापाले सहकार्य गरेको कार्यक्रमले कोशी प्रदेशका विभिन्न जिल्लामा विकसित भइरहेको अन्तर्राष्ट्रिय शिक्षा बजार, विद्यार्थीको विदेश अध्ययनप्रतिको आकर्षण, शैक्षिक परामर्श व्यवसायका चुनौती तथा अवसरबारे समेत राष्ट्रिय स्तरमा बहसको आधार तयार गर्ने उपाध्यक्ष भण्डारीले बताए।
ईक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षता तथा ईक्यान केन्द्रीय द्वितिय सचिव आशिक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईक्यान झापाका निवर्तमान अध्यक्ष रोशन सुवेदी, ईक्यान झापाका प्रमुख सल्लाहकार मदन अधिकारी, सल्लाहकार प्रकाश पराजुलीलगायतले विभिन्न जिज्ञासाको जवाफ दिएका थिए।
कार्यक्रमको सहजीकरण ईक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले गरेका थिए।

















