बिर्तामोड । झापाली लोकगायिका मोनिका चुडाल (मेनुका) लाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
   प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय  काठमाडौंले  झापाली लोकगायिका मोनिका चुडाल (मेनुका) लाई  राष्ट्रिय सम्मान  प्रदान गरेको हो ।
   प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान केन्द्रीय अध्यक्ष विद्यानन्द लेखीको अध्यक्षतामा आयोजित प्रभुनारायण चौधरी स्मृति सभामा प्रमुख अतिथि नेपाल सरकार कृषि बन तथा पर्याबरण मन्त्री  गीता चौधरी, विशिष्ट अतिथि  बरिष्ठ अधिवक्ता  कृष्णप्रसाद भण्डारीलगायतले लोकगायिका मोनिका चुडाल (मेनुका) लाई दोसल्ला मालासहित राष्ट्रिय सम्मान पत्र प्रदान गरेका थिए ।
   गीत , संगीत र समाजसेवामा विगत ३०  वर्षदेखि निरन्तर क्रियाशिल रहँदै  एक अनुकरणीय एवम् प्रेरणादायी व्यक्तित्वको रूपमा रहेर कलासंस्कृति तथा गीतसंगीतको माध्यमबाट समाजको प्रतिष्ठा उच्चस्तरमा पुर्याएको योगदानको कदर गर्दै झापाली लोकगायिका मोनिका चुडाल (मेनुका) लाई राष्ट्रिय सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।
  झापा बिर्तामोड –१० सैनीक बजारमा बुबा भोलानाथ चुडाल तथा आमा टीकादेबी चुडाल (चेलीदिदी )को कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी चुडालले  लोक आधुनिक गीत तथा भजनमा आफ्नो छुट्टै  विशिष्ठ पहिचान बनाउँदै लोक संस्कृतिका गीतहरु, देउसी भैलो, संगीनी, असारे गीत, वालन गीत गरी तीनसय भन्दा वढी गीत गाउन सफल र १६ वटा एल्वम उत्पादन गरेकी छिन्।
   पाँच , छ वर्षको उमेरदेखि गीत संगीतमा लागेकी चुडालले २०५७ सालमा भोजपुर डबली नामक एल्बम बजारमा ल्याएकी थिइन् । २०५८ सालमा रेडीयो नेपालबाट स्वर परीक्षा पास गरेकी चुडालले आफ्नो लोक गीत संगीतबाट श्रोतालाई मन्त्रमुग्ध बनाएकी छिन् । नेपाल साँगीतिक संघको केन्द्रीय सदस्य रहेकी चुडाल यसअघि पूर्वाञ्चल कलाकार समाज झापाकी कोषाध्यक्ष रहेकी थिइन् ।
    झापाली लोकगायक युवराज पोर्तेलसंग गायन क्षेत्र अघि बढाइरहेकी चुडालले पछिल्लो समय म्यूजिक नेपालसंगको सहकार्यमा धेरै गीत तथा म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् ।

   उनीहरुको पञ्चेबाजामा आधारित म्यूजिक भिडियो पुतलीको बिहे, र मायाले बोलायो गीत बजारमा आइसकेको छ।
   हाल काठमाण्डौ बागबजारमा वस्दै आएकी चुडालले प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय  काठमाडौंले आफूलाई  राष्ट्रिय सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गरिन् ।

  यो सम्मानले आफूलाई गीतसंगीतको क्षेत्रमा अघि वढ्ने प्रेरणा हौसला मिलेको  बताउँदै उनले गीत संगीतलाई निरन्तर अगाडी बढाउने प्रतिबद्धता जनाइन्।
   विगत लामो समयदेखि गीतसंगीतको क्षेत्रमा सहकार्य गरीरहेका झापाली लोकगायक युवराज पोर्तेलले  लोकसंस्कृति , लोकआधुनिक, मौलिक गीत, भजन सबै उत्तिकै गाउन सिपालु  लोकगायिका मोनिका चुडाललाई प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय  काठमाडौंले राष्ट्रिय सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गरे।     कला संस्कृति,गीत संगीतको माध्यमबाट समाज र राष्ट्रका साथै विशेषगरी  महिला सशक्तीकरणको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै  लोकगायिका चुडाललाई यसअघि सगरमाथा प्रतिष्ठान नेपालले महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ सम्मान प्रदान गरेको बताउँदै उनले झापाली लोकगायिकाले काठमाडौंमा राष्ट्रिय सम्मान पाउनु समग्र  लोकगायक लोकगायिकाको सम्मान भएको जनाए।