‘ हामी भू–माफिया होइनौं, वास्तवीक जग्गाधनी हौं ’

बिर्तामोड । झापा दमकका दुई जना महिला जग्गाधनीले आफूहरु वास्तविक जग्गाधनी भएको बताएका छन् ।
साविक अनारमनी गाविस वडा नं. ७ हाल बिर्तामोड नपा वडा नं. ३ मा रहेको ८ कठ्ठा जग्गाका जग्गाधनीहरु दमक नपा वडा नं. ८ की सरस्वती ढकाल र दमक नपा वडा नं. ३ की घनेन्द्रदेवी थापाले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
केहिदिन अघि ‘बिर्तामोडमा भू–माफियाको चलखेल ,जग्गा आफ्नो नाममा भएको भन्दै सुकुम्बासी उठाउने धम्की’ तथा ‘दमकका दुई महिलाले हत्याए सैनिकमोडका जग्गा’ भन्ने शिर्षकमा पत्रिका र अनलाइनमा समाचार प्रकाशन भएपछि उनीहरुले त्यसको खण्डन गर्दै आफूहरु भू–माफिया नभएर वास्तवीक जग्गाधनी भएको बताएका हुन् ।
उनीहरुले व्यवसायी लक्ष्मण बस्नेतलाई समेत जोडेर जग्गाधनि महिलाहरुलाई अपमान हुनेगरी एकलौटी ढंगले भू–माफिया जस्तो तुच्छ शब्द प्रयोग गरी दुष्प्रचारप्रसार तथा समाचार प्रकाशित गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्य वुझेर मात्र समाचार सम्प्रेशण गरिदिन आग्रह गरेका छन् ।
साविक अनारमनी गाविस वडा नं. ७ हाल बिर्तामोड नपा वडा नं. ३ मा रहेको कित्ता नं. ५७७ र मोठ नं. २५ ÷३११४ को ८ कठ्ठा जग्गा झापा जिल्ला बनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगको चलानी नं. १३९६ को मिति २०४६ असार १६ गतेको पत्रानुसार र मिति २०४६ जेठ २ गतेको निणर्यानुसार जग्गाधनि अनुपकुमारी लिम्बुनीको नाममा कायम रहेको जग्गा २०४७ जेठ २५ गते ससिमै कित्ता जग्गा सरस्वती ढकाल र घनेन्द्रदेवी थापाको नाममा राजिनामा पास गरी खरिद गरेको र सोही समयदेखी ढकाल र थापाको संयुक्त नाममा मालपोत कार्यालय भद्रपुरमा रहेको तथा उक्त जग्गाको फिल्डवुक समेत नापी कार्यालय भद्रपुरको श्रेस्ता अभिलेखमा ढकाल र थापाको संयुक्त नाममा कायम रहेको उनीहरुले बताएका छन् ।
उक्त जग्गा २०२१ सालको सर्भे नक्सामा समेत स्पष्ट देखिएको बताउँदै आफूहरु दमक निवासी भएकाले आफ्नो जग्गाको हालसाविक गरी चारकिल्ला कायम गर्ने विषयमा २०७८ असोज १६ गते नापी कार्यालयमा निवेदन दिई अमिन आएर नापजाँच गरेको पत्रकार सम्मेलनमा जग्गाधनि ढकालले बताइन् ।
उक्त जग्गा सुकुम्बासी, वा अरु कसैको नामको तथा श्रेष्ताको नभएको बताउँदै उनले आफूहरुले खरिद गरेको जग्गामा आफूहरु नवसेपनि अरुले कव्जा जमाउन खोज्नु कानूनसम्मत नभएको बताइन् ।आफूहरु भू–माफिया नभएको बताउँदै उनले भनिन् ‘ म आफू भाडाको घरमा बस्छु , म कसरी भू–माफिया भएँ । ’
पत्रकार सम्मेलनमा आफन्त लक्ष्मण बस्नेतले जग्गाधनी ढकाल र थापा वास्तवीक जग्गाधनी भएको बताउँदै उनीहरुलाई उक्त जग्गा प्राप्तीका लागि सहयोग गरिदिन सवैलाई अनुरोध गरे । उक्त जग्गामा करिव १० घर सुकुम्वासी वसेको वताउँदै उनले २०४७ सालदेखि उक्त जग्गा ढकाल र थापाको संयुक्त नाममा मालपोत कार्यालय भद्रपुरमा रहेको तथा उक्त जग्गाको फिल्डवुक समेत नापी कार्यालय भद्रपुरको श्रेस्ता अभिलेखमा ढकाल र थापाको संयुक्त नाममा कायम रहेकाले उक्त जग्गामा सुकुम्वासीहरुलाई राख्ने अधिकार कसैलाई नभएको बताए ।
त्यस्तै अर्का आफन्त ओमनाथ मैनालीले उक्त जग्गाको मालपोत बिर्तामोड नपा वडा नं. ३ मा बुझाउन जाँदा नलिने गरेको बताए । उनले भने ‘राज्यलाई कर वुझाउन जाँदा समेत नलिनु यो कस्तो सरकार हो ? ’
आफ्नो नक्सा र श्रेष्ताको जग्गा आफूहरुले उपभोग गर्न पाउनुपर्ने बताउँदै जग्गाधनी ढकालले त्यसमा सहयोग गरिदिन सवैसंग अनुरोध गरीन् । आफूहरुले न्याय नपाए अदालतसम्म जान पछि नपर्ने उनले बताइन् ।