बिर्तामोड । झापाको बिर्तामोड –३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको अटिजम श्रोतकक्षाको अनुगमन तथा अवलोकन गरिएको छ ।  अष्ट्रेलियन  राजदुतावासकी विकास सहयोग प्रमुख कविथा काश्यनाथन , अष्ट्रेलियन  राजदुतावासका विकास कार्यक्रमका मेनेजर सुनिता गुरुङलगायतले अटिजम श्रोतकक्षाको अनुगमन तथा अवलोकन गरेका हुन् । 

अनुगमन टोलीमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसार्इं , न्याय तथा विकासका लागी सामाजिक सञ्जाल (एसएनजेडी)का अध्यक्ष सोमनाथ भट्टराई, कार्यक्रम संयोजक कुमार चुडाल, कार्यक्रम अधिकृत रञ्जन धमला, महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाई ,बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो । 

 कार्यक्रममा अटिजम श्रोत कक्षाको विकास, चुनौती र आगामी दिनमा गर्न सकिने कार्यहरुका बारेमा अन्रक्रिया गरिएको थियो । कार्यक्रममा महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाईले  विद्यालयमा सञ्चालन भइरहेको  अटिजम श्रोत कक्षाको बारेमा जानकारी गराउँदै  अटिजम श्रोत कक्षा सञ्चालनमा देखिएको समस्याका बारेमा अवगत गराएका थिए ।

उनीहरुले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पुर्याउन अष्ट्रेलियन  राजदुतावास, न्याय तथा विकासका लागी सामाजिक सञ्जाल (एसएनजेडी) र बिर्तामोड नगरपालिकाको सहकार्यमा अटिजम श्रोत कक्षा सञ्चालनमा ल्याइए पनि कक्षाकोठा अप्रयाप्त भएको बताएका थिए । 

न्याय तथा विकासका लागी सामाजिक सञ्जाल (एसएनजेडी)का कार्यक्रम संयोजक कुमार चुडालले महेन्द्र रत्न माविमा अटिजम श्रोतकक्षा सञ्चालनका लागि  अष्ट्रेलियन  राजदुतावासको सहयोगमा न्याय तथा विकासका लागी सामाजिक सञ्जाल (एसएनजेडी) ले भौतिक पूर्वाधार निर्माण र थेरापी तथा खेलकुदका सामग्री प्रदान गरिएको जानकारी गराएका थिए । उनले अटिजम श्रोत शिक्षकका लागी तालिमको समेत व्यवस्था गरिएको बताए । 

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसार्इंले महेन्द्र रत्न माविमा अटिजम श्रोत कक्षा सञ्चालनका लागी बिर्तामोड नगरपालिकाले शुरु देखि नै सहयोग गरिरहेको बताइन् । उनले अटिजमका क्षेत्रमा गरेको सहकार्यका लागि अष्ट्रेलियन राजदुतावासलार्इ धन्यवाद ज्ञापन गर्दै महेन्द्र रत्न माविमा अटिजम श्रोत कक्षा सञ्चालनका लागी  आफूहरुले गरेको सहयोग अप्रयाप्त रहेकाले अटिजम श्रोत कक्षा सञ्चालनका लागी आवश्यक पर्ने थप स्रोतसाधन उपलब्ध गराउन सहयोग गर्न  अष्ट्रेलियन  राजदुतावासका टोलीलाई आग्रह गरिन् । 

 कार्यक्रममा अटिजम भएका बालबालिकाकी अभिभावक सुष्मा कटुवालले महेन्द्र रत्न माविमा रहेको अटिजम श्रोत कक्षाले आफ्नो छोराको प्रगतिमा मद्यत पुगेको बताउँदै  अटिजम भएका बालबालिकाका अभिभावकहरुका लागी तालिम आवश्यक भएको बताइन् । कार्यक्रममा  अष्ट्रेलियन  राजदुतावासका विकास सहयोग प्रमुख कविथा काश्यनाथन र राजदुतावासका विकास कार्यक्रमका मेनेजर सुनिता गुरुङले महेन्द्र रत्न माविले अटिजम श्रोतकक्षा सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै आफूहरुको सहयोग निरन्तर रहने बताए ।

कार्यक्रमको सहजीकरण न्याय तथा विकासका लागी सामाजिक सञ्जाल (एसएनजेडी)का  कार्यक्रम संयोजक कुमार चुडालले गरेका थिए ।