बिर्तामोड।याक्थुङ लिम्बु जातिको साझा संस्था किराँत याक्थुङ चुम्लुङ कियाचुको १२औं राष्ट्रिय महाधिवेशन झापाको भद्रपुरमा तयारी गरिएको छ।
किराँत याक्थुङ चुम्लुङको संघीय समितिको आयोजना, कियाचु जिल्ला कार्यसमिति झापाको व्यवस्थापन तथा कियाचु भद्रपुर नगर कार्यसमितिको सह व्यवस्थापनमा आगामी चैत्र १२,१३, १४ गते कियाचुको १२औं राष्ट्रिय महाधिवेशन झापाको भद्रपुरमा आयोजना हुने कियाचु जिल्ला कार्यसमिति झापाका अध्यक्ष सेसेहाङ फियाकले बताए।
कियाचुको १२औं राष्ट्रिय महाधिवेशनको उद्घाटन चैत १२ गते चन्द्रगढीस्थित मेची रंगशालामा गरिने र कियाचुका संस्थापक उपाध्यक्ष, हालका सल्लाहकार, पूर्व शान्ती तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए।
महाधिवेशनको उद्घाटन अघि याक्थुङ, लिम्बू जातिको सांस्कृतिक पहिचान झल्कने भेषभुषा, च्याब्रुङ नाच के : लाङ यालाङ्, येवा लाङ् लगायतका सास्कृतिक झाँकीसहित नगर परिक्रमा गरिने उनले बताए।
राष्ट्रिय महाधिवेशनको चैत १३ गते विहान भद्रपुर सगरमाथा चौकको होटल डे ग्लोमा शुरु हुने बन्दसत्रमा लिम्बुवानका ९ जिल्ला, उपत्यकाका ३ जिल्ला, चितवन, ओखलढुङ्गा, कास्की पोखरा गरी १५ जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षक, प्रदेश नं१ को लिम्बुवान प्रदेश समिति र वाग्मति प्रदेशको नेवा- ताम्सालिङ प्रदेश कार्यसमितिसहित ६ वटा विषयगत संगठनका प्रतिनिधी , विदेशस्थित चुम्लुङका प्रतिनिधिहरु,सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी करिब ५ सय जना प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुने र प्रतिनिधि तथा पर्यवेक्षकको लागि खाना र आवासको समेत व्यवस्था गरिएको उनको भनाई छ ।
किराँत याक्थुङ चुम्लुङ कियाचुकी संघीय महासचिव तिरन्ती तुम्बापोले कियाचुको १२औं राष्ट्रिय महाधिवेशनले मुक्कुमलुङ संरक्षण तथा नो केवलकार, प्रदेश नं. १ लाई “लिम्बुवान, किरात नामाकरण” तथा नो कोशी आन्दोलन लगायतका प्रमुख विषयमा बृहत छलफल गरी आगामी कार्यदिशा तय गर्ने बताइन्।
उनले प्रदेश नं. १ मा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्व्यन गराउने, याक्थुङ समुदायको मृत्यु संस्कार, परम्परा, विचलन र प्रभावहरु, आदिवासी संस्था र ऐन कानुन सम्बन्धी एजेन्डाहरुमा समेत छलफल गरिने बताइन् ।
१२ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले किराँत याक्थुङ चुम्लुङ कियाचु संघीय समितिको नयाँ नेतृत्व चयन गर्ने किराँत याक्थुङ चुम्लुङ कियाचु संघीय सदस्य अमृत योङहाङले बताए ।
कियाचुको १२औं राष्ट्रिय महाधिवेशन चैत १४ गते बेलुकी कियाचु जिल्ला कार्यसमिति झापाको व्यवस्थापन तथा कियाचु भद्रपुर नगर कार्यसमितिको सह व्यवस्थापनमा तरेचा र याक्थुङ सांस्कृतिक केलाङ र यालाङ् सहित समापन गरिने उनले बताए।
कार्यक्रममा किराँत याक्थुङ चुम्लुङको संघीय समितिकी महासचिव निरन्ती तुम्वापो, सदस्य अमृत योङहाङ, चन्द्रकला सुब्बा , कियाचु जिल्ला कार्यसमिति झापा अध्यक्ष सेसेहाङ फियाक, सचिव भीममाया नेम्बाङ, सदस्य गौरव लिम्बू, योगेन्द्रकुमार कुरूवाङ, मणीराज कन्दङ्वा , कियाचु बिर्तामोड नगर कार्यसमिति अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, हल्दीबारी गाउँपालिका अध्यक्ष सुमन नेम्बाङ, मेचीनगर नगर अध्यक्ष वीरबहादुर वेघालगायतले कियाचुको १२औं राष्ट्रिय महाधिवेशन सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन कियाचु जिल्ला कार्यसमिति झापा अध्यक्ष सेसेहाङ फियाकले गरेका थिए।




















