बिद्यालय हाताभित्र शैक्षिक सामग्री विक्री गर्न रोक

बिद्यालय हाताभित्र  शैक्षिक सामग्री विक्री गर्न रोक

बिर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाले बिद्यालय हाताभित्र कुनै पनि शैक्षिक सामग्री विक्री वितरणमा रोक लगाएको छ ।

झापाको बिर्तामोडमा आयोजना गरेको सरोकारवालाको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाका अध्यक्ष सञ्जय शर्मा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखामा आवद्ध व्यवसायीले शैक्षिक सत्र शुरु भएसंगै बिद्यालय हाताभित्र नै दोकान राखेर पाठ्यपुस्तक तथा स्टेशनरीका सामग्री बिक्री गर्ने पाइएकाले त्यस्ता कार्य नगर्न सरोकारवाला निकायलाई आग्रह गरेका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाले आगामी वैशाख १५ गतेदेखि जेठ ३० गतेसम्म सोमबारको विदामा समेत पुस्तक पसल खुल्ला राख्न पाउनुपर्ने माग गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाका अध्यक्ष सञ्जय शर्मा सापकोटाले बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले संगम प्रकाशनको विज्ञान र वेदान्त प्रकाशनको गणित पुस्तकमात्र विद्यालयलाई सिफारिस गरेको र त्यस वाहेकको पुस्तक पढाउन विद्यालयलाई बन्देज गरेकोमा उनले आपत्ति प्रकट गरे ।
सिमित प्रकाशकहरुको आर्थिक प्रलोभनमा परि प्याब्सन झापाले विद्यालयमा पुस्तक अनिवार्य गरेको भन्दै उनले पुस्तक प्रकाशन गृहले झापाका विद्यालयमा आफ्नो प्रकाशन गृहको पुस्तक लगाउनका लागि प्याब्सनलाई २५ हजार रुपैँया दिनु पर्ने अन्यथा त्यो प्रकाशनको पुस्तक प्याव्सनले सुचीमा नराख्ने गरेको पाइएको बताए । झापामा करिब तीन दर्जन भन्दाबढी प्रकाशन गृहले प्याब्सनलाई त्यो रकम बुझाएर व्यापारका लागि सुचिकृत गरेको बताउँदै उनले त्यो रकम नबुझाउने प्रकाशन गृहलाई मार्केटिङका लागि विद्यालयमा जान नै प्याब्सनले बन्देज लगाएको जनाए।
पाठ्यक्रम विकास केन्द्रले सुचिकृत गरेको पुस्तक विद्यालयले छान्न पाउनु पर्ने बताउँदै उनले प्याब्सनले त्यसो हुन नदिएको बताए । उनले भने – विद्यालयले गुणस्तर र मूल्य अनुसार पुस्तक छान्न पाउनुपर्छ ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य फडिन्द्र न्यौपानेले पाठ्यक्रम विकास केन्द्रले मान्यता दिएको पुस्तक विक्री गर्न प्याव्सनले सिण्डीकेट खडा गरेको आरोप लगाउँदै त्यसले पुस्तक व्यवसायीको रोजीरोटी गुम्ने खतरा बढेको बताए ।

त्यस्तै अभिमावक संघका सचिव रुद्र सिटौलाले प्याव्सनको सिण्डिकेट लगाउने कार्यप्रति अभिभावकपनि जागरुक हुनुपर्ने बताए ।
त्यस्तै जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख राजकुमार विश्वकर्माले विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सिफारिस गरेको पुस्तक लगाउन पाउने बताउँदै पाठ्यपुस्तक विक्रेताले पनि पुराना स्टकको पुस्तकमा मूल्यसूची मेटेर विक्री गर्ने गरेको भन्दै त्यस्तो काम बन्द गर्न अनुरोध गरे । कार्यक्रममा बिर्तामोड नगर शिक्षा अधिकृत दिनेश आचार्यले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा अर्जुनधारा नगर शिक्षा शाखाकी समिरा दाहाल, बुद्धशान्ति नगर शिक्षा शाखाकी झल्का अधिकारीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका प्रदेश नं। १ उपाध्यक्ष राजकुमार दाहालले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )