कैलाशेश्वर महादेवको प्रतिमामा हजारौं भक्तजनले चढाए जल

कैलाशेश्वर महादेवको प्रतिमामा हजारौं भक्तजनले चढाए जल

बिर्तामोड । साउन महिनाको अन्तिम सोमबारका अवसरमा झापाको बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा रहेको कैलाशेश्वर महादेवको प्रतिमामा हजारौं भक्तजनले जल चढाएका छन् ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा अन्तिम सोमबार पहेँलो एवं हरियो वस्त्र पहिरिएका भक्तजनले लाम लागेर कैलाशेश्वर महादेवको प्रतिमामा जल चढाएका हुन् । यसैबीच देवी पञ्चकन्या टोल विकास संस्थाको आयोजनामा भगवान शिवलाई जलापर्ण तथा साँगीतिक कार्यक्रम गरिएको छ । देवी पञ्चकन्या टोल विकास संस्थाका अध्यक्ष जनक खड्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सचिव सोमनाथ पौडेलले स्वागत गरेका थिए । संस्थाका सल्लाहकार सदस्य टीकाप्रसाद संग्रौलाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा बिर्तामोड –१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले कैलाशेश्वर महादेव प्रतिमा स्थापना गरेर देवी पञ्चकन्या टोलको मात्र नभएर झापाकै पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिलाएको बताए ।
कार्यक्रममा विवेकाश्रमका महासचिव तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्य छन्दुराम भण्डारीले भगवान शिवको महिमा प्रकाश पार्दै साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने बताए । उनले साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास रहेको बताए ।
कार्यक्रममा देवी पञ्चकन्या टोल महिला नौमती बाजा समितिका महिलाले नौमती बाजा बजाएर भक्तजनलाई स्वागत गरेका थिए भने द भ्वाइस अफ किड्स नेपालकी फस्ट रनरअप अनुजा कडरियाले शिव भजन प्रस्तुत गरेकी थिइन् । त्यस्तै मोरिक कलाकेन्द्रका कलाकार तथा अन्य कलाकारले शिव ताण्डव , शिव भजनमा नृत्य, झाँकीलगायत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक वीरबहादुर चौहान, संस्थाका पूर्व अध्यक्ष रुपनारायण पाण्डे, देवी पञ्चकन्या किर्तन मण्डलीका पूर्व अध्यक्ष देवीप्रसाद प्रसाईं, विष्णुमाया घिमिरे, गोविन्द कडरिया, विष्णुप्रसाद उप्रेती, सुनमाई झरनाका प्रतिनिधीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विजय भट्टराईले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )