इलाम आएर सुवास नेम्वाङले के भने ?

इलाम ।  पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताएका छन् ।

नेम्वाङले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पुर्‍याएर १० दिनभित्र परीक्षण उडान गरिने बताए ।

एक दशकदेखि निर्माण कार्य सुरु भएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका बेला नेम्वाङले परीक्षण उडान गर्ने आश्वासन दिए । उनको यस आश्वासनले जिल्लावासी उत्साहित भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई उद्धृत गर्दै नेता नेम्वाङले भने, ‘१० दिनभित्र परीक्षण उडान हुन्छ ।’
सुकिलुम्बामा ट्विनअटर विमान अवतरण तथा उडान हुने बताइएको छ ।

फरक प्रसंगमा नेता नेम्वाङले पार्टी एकताको विकल्प नरहेको बताए । नेम्वाङले पार्टी एकतामा कुनै समस्या नभएको भन्दै एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई पार्टीका अध्यक्षबीच गम्भीर छलफल भइरहेको बताए ।

दुई पार्टीको एकतालाई निर्वाचनबाट नागरिकले अनुमोदन गरिसकेकाले पनि एकताको विकल्प नभएको उनको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )