अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री सहर

अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री सहर

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७५ र ०७६ को लागि ५८ करोड ५८ लाख ८१ हजार रुपैयाँको बजेट बनाएको छ ।

हाम्रो अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री सहर’ भन्ने नारासहित नगर प्रमुख हरिकुमार रानाले नगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी दोस्रो नगर सभाबाट पारित नीति तथा कार्यक्रमसहित विनियोजित बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेट अनुसार चालु खर्च तर्फ सात करोड ४४ लाख ९५ हजार रुपैयाँ, पूँजीगत खर्च तर्फ २२ करोड ३४ लाख ८६ हजार रुपैयाँ, सशर्त अनुदानबाट हुने खर्च १६ करोड २७ लाख रुपैयाँ, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम र सडक बोर्ड नेपालतर्फ ५२ लाख रुपैया र सामाजिक सुरक्षा भत्तामा १२ करोड रुपैयाँ उल्लेख गरिएको छ ।

नगरपालिकाले यस वर्ष पूर्वाधार विकासमा १५ करोड आठ लाख १० हजार, आर्थिक विकासमा दुई करोड, सामाजिक विकासमा एक करोड ४५ लाख, वातावरण तथा विपद्मा एक करोड २५ लाख ७० हजार र संस्थागत विकास तथा सेवा प्रवाहमा १६ लाख छ हजार विनियोजन गरेको छ ।

नगरपालिकाले आम्दानीको रुपमा नेपाल सरकारबाट निशर्त अनुदान १५ करोड ८८ लाख ५६ हजार रुपैयाँ, सशर्त अनुदानबापत १६ करोड २७ लाख रुपैयाँ, नगरपालिकाको आन्तरिक आम्दानीबाट दुई करोड ५० लाख रुपैयाँ रहेको जनाइएको छ ।

यसैगरी राजश्व बाँडफाँड बापत संघीय सरकारबाट प्राप्त हुने नौ करोड ५० लाख ७० हजार रुपैयाँ, प्रदेश सरकारबाट ४२ लाख १९ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट प्राप्त हुने एक करोड ४८ लाख ३६ हजार रुपैयाँ, सडक बोर्डबाट ३५ लाख रुपैयाँ, सामाजिक सुरक्षा भत्ताबापत १२ करोड र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबापत १७ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

प्राविधिक शिक्षा जोड दिँदै नगरले सिभिल इन्जिनियरिङसँगै भेटेनरी, कृषिजस्ता शिक्षालाई प्राथमिकतामा राखेर शिक्षालयको स्थापना गर्ने पनि नगर प्रमुख रानाको भनाई रहेको छ । यस्तै, वातावरणमैत्री सहरको रुपमा विकसित गर्न प्रत्येक वडामा अध्ययन गरी विषयगत क्षेत्रको विकास गरिने पनि नगरको भावी योजना रहेको प्रमुखले उल्लेख गरे ।

त्यसैगरी भेटघाटमा अर्जुनधारा ६ का वडाध्यक्ष लोकनाथ गौतमले दोस्रो नगर सभाबाट पारित अन्य निर्णयहरु र नगरकी प्रवक्ता सकुन्तला बरालले गत साउन १२ गते नगर कार्यपालिका बैठकबाट पारित निर्णयहरुका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (1 )