‘अमेरिका बोइज’को छायांकन झापाबाट सुरु

झापा, १५ कात्तिक

नेपाली कथानक चलचित्र ‘अमेरिका बोइज’को छायांकन झापाबाट सुरु गरिएको छ । बुधबार झापाको बुद्धशान्ति गाउँपालिकास्थित भोटेटारमा एक कार्यक्रमका बीच चलचित्रको शुभ मुहुर्त गरिएको हो ।

‘बड्डी इन्टरटेनमेन्ट एण्ड सी बर्ड पिक्चर’को ब्यानरमा बन्ने चलचित्रमा अर्पण शर्मा र श्रृष्टी कार्की नायक तथा नायिकाको भूमिकामा छन् । चलचित्र १५ दिन झापामा र त्यसपछि काठमाडौँमा २० दिन छायांकन गरिने निर्देशक प्रवेश पौडेलले जानकारी दिए ।

चलचित्र प्रदर्शनको मिति पनि निर्माण अगावै तोकिएको छ । यो चलचित्र आगामी वैशाख १४ गते नेपालभरका चलचित्र हलमा प्रदर्शन गरिने कार्यकारी निर्माता समिर खरेलले जानकारी दिए । चलचित्रको कथावस्तु समसामयिक विषयमा आधारित रहने जनाइएको छ ।

‘चलचित्रको नाम अमेरिका बोइज भए पनि यसको छायांकन अमेरिकामा हुँदैन,’ अर्का कार्यकारी निर्माता अनुप थापाले भने, ‘चलचित्रमा डार्क कमेडी हुनेछ, त्यसमा हामीले आफ्नोपन दिन खोजेका छौँ ।’

गाउँ र सहरमा आफूहरुले देखेको, भोगेको कहानीलाई चलचित्रमा उतार्ने जमर्को गरिएको उनले बताए । २ करोडभन्दा बढी लगानीमा बन्ने यो चलचित्रको कथावस्तु दर्शकले सरल ढंगले बुझ्ने दाबी कार्यकारी निर्माता थापाको छ ।

ईन्द्रप्रसाद खरेल र प्रकाश भुजेल निर्माता रहेको चलचित्र अमेरिका बोइजको कथावस्तु विवेक पाण्डेले लेखेका हुन् । चलचित्रमा मोफसलका स्थापित युवा रंगकर्मी माधव कल्पितको वेजोड अभिनय रहने जनाइएको छ ।

चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आषिश प्रसाईं, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुवास गजुरेल, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, उमा बानिया, राजु खरेल, राकेश कमेडी, सविता रेग्मी लगायतले अभिनय गर्दैछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )