ताप्लेजुङमा कस्तो छ चुनावी सरगर्मी ?

ताप्लेजुङ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ताप्लेजुङमा चुनावी चहलपहल बढेको छ ।
जनमत आफ्नो पक्षमा पार्न विभिन्न पार्टीका उम्मेदवार कार्यकर्ताका साथ गाउँगाउँमा चुनावी आमसभामा व्यस्त छन् ।

सबै दलले प्रत्येक वडामा आमसभा गरी चुनावी प्रचारप्रसारमा लागेका हुन् । आमसभामा सर्वसाधारणलाई आकर्षण गर्न स्थानीय तथा राष्ट्रियस्तरका कलाकारलाई समेत उनीहरूले साथमा लिएका छन् ।

कार्यकर्ता पर्चा पम्प्लेट, तुल ब्यानर टाँस्न र बाँड्नमै ब्यस्त भएपछि घर तथा सार्वजानिकस्थल उम्मेदवारको तस्वीरसहितको पर्चा पम्प्लेटले रंगिएका छन् भने चोकचोकमा तुल ब्यानर राखिएका छन् ।

चोकचोकका चिया पसलमा कार्यकर्ताको भीडभाडसँगै राजनीतिक चर्चा बढेको छ । राजनीतिक पार्टी र उम्मेदवारका विषयमा नागरिकस्तरमा समेत कसले हार्ने वा जित्ने भन्ने विषयमा विश्लेषणसहित छलफल भइरहेको पाइन्छ ।

यसैबीच काठमाडौँमा बसोबास गर्दै आएका ताप्लेजुङबासी पनि निर्वाचनको प्रचारप्रसारका लागि केही दिनअघिदेखि घर फर्की आ–आफ्ना नेताको पछि लागेका छन् । प्रतिनिधिसभाका लागि एक र प्रदेशका लागि दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा आठ राजनीतिक दलका २३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् तर मुख्य प्रतिस्पर्धा काँग्रेस र वाम गठबन्धनबीच हुने देखिएको छ ।

प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका केशवप्रसाद दाहाल, नयाँ शक्तिका चन्द्र सावा, संघीय लिम्बूवान मञ्चका विष्णु याक्सो, राष्ट्रिय जनमुक्तिका आइतराज माबोहाङ, राप्रपा राष्ट्रवादीका डिल्ली विष्ट, संघीय समाजवादी फोरमका कुमार साम्यू र मङ्गोल नेशनल अर्गनाइजेसनका छवीन्द्र गुरुङ प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई र कांग्रेस पूर्वजिल्ला सभापति केशवप्रसाद दाहालबीचको प्रतिस्पर्धा भने रोचक छ । भट्टराई विसं २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौँबाट पराजित भएपछि ताप्लेजुङ आएका हुन् भने दाहाल असारमा भएको स्थानीय तहको चुनावमा फुङलिङ नगरपालिकाको प्रमुखमा पराजित भएका थिए ।

यसैबीच प्रदेशसभा (क) मा कांग्रेसकी लीलादेवी बोखिम लिम्बू, एमालेका बलबहादुर साम्सोहाङ, संघीय लिम्बूवान मञ्चका डिबी खुदाङ, राष्ट्रिय जनमुक्तिका बलबहादुर लिम्बू, राप्रपा राष्ट्रवादीका गायत्री थेवे, नयाँ शक्तिका मानबहादुर गुरुङ र संघीय समाजवादी फोरमका भक्तबहादुर एङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ ।

यता प्रदेशसभा (ख) मा सात जनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङ, कांग्रेसबाट दीपेन्द्रकुमार सेन्दाङ, संघीय लिम्बूवान मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय जनमुक्तिका यामकुमार आङ्बुहाङ, राप्रपा राष्ट्रवादीका सपना सामेखाम, नयाँ शक्तिका विशाल लिम्बू र संघीय समाजवादी फोरमका सुखवीर लिम्बू प्रतिस्पर्धी बनेका छन् ।

साना दलका उम्मेदवार पनि चुनाव प्रचारप्रसारमै व्यस्त छन् ।
कूल ७८ हजार ३९७ मतदाता रहेको यस जिल्लामा ७३ मतदानस्थल र ११४ मतदान केन्द्र निर्धारण गरिएको छ । जसअन्तर्गत (क) मा ६१ र (ख) मा ५३ वटा मतदान केन्द्र छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )