सीप विकासले दियो ४९ जनालाई यस्तो तालिम

भद्रपुर ।  झापाको आदिवासीबहुल बाह्रदशी गाउँपालिका निवासी कुलदेव राजवंशीलाई अहिले स्वरोजगार बन्ने हौसला प्राप्त भएको छ ।
केही महिना अघिसम्म आफूमा केही सीप नहुँदा भविष्यमा विदेश जाने र पैसा कमाउने सपना बुनिरहेका उनी अहिले सीपकौशल भएपछि ‘स्वदेशमै रोजगार गर्छु’ भन्नेमा ढुक्क छन् ।

१२ कक्षामा स्थानीय गौरीशंकर माविमा अध्ययनरत कुलदेव मात्र होइन वीरेन्द्र मावि चन्द्रगढीमा १२ कक्षामै पढ्दै गरेका तेजप्रसाद पराजुलीलाई पनि अब आफ्नो भविष्य सुनिश्चित रहेको लागेको छ ।

यी दुबैजनाले प्लम्बिङसम्बन्धी तीनमहिने तालिम लिएपछि उनीहरुमा स्वदेशमै सीप बेचेर आफ्नो र परिवारको जीवनगुजारा चलाउन सक्ने हिम्मत बढेको हो ।

त्यसो त यी दुई युवा मात्र होइन झापाका ४९ जना युवायुवतीमा आफ्नै खुट्टामा उभिएर आफ्नै गाउँ–ठाउँमा आफ्नो सीप निखारेर अर्थोपार्जन गर्ने आत्मविश्वास बढेको छ ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरले चालु आर्थिक वर्ष .को पहिलो कार्यक्रमअन्तर्गत झापाका विभिन्न क्षेत्रका चार दर्जन युवायुवतीलाई अलग–अलग समूहमा तीन किसिमका तालिम निःशुल्क प्रदान गरेको हो ।

साउनमा शुरु भएको तालिमको बिहीबार केन्द्रकै तालिम भवनमा एक समारोहका बीच समापन गरिएको छ । ४२ जना महिलाका लागि सिलाई–कटाई र व्युटिसियन तथा ७ जना पुरुषलाई प्लम्बिङसम्बन्धी तालिम प्रदान गरिएको केन्द्रका सूचना अधिकृत राजकुमार धिमालले जानकारी दिए ।

प्लम्बिङ प्रशिक्षकको रुपमा गाईघाट निवासी लोकबहादुर राउत, शृंगार प्रशिक्षकका रुपमा कमला कार्की र सिलाई–कटाई प्रशिक्षकका रुपमा सरस्वती गुरुङ रहेका थिए ।

केन्द्र प्रमुख सुवेन्द्र मण्डलको अध्यक्षतामा आयोजित समापन समारोहका प्रमुख अतिथि जीवनकुमार श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । कर्मचारी गौतम पौडेलले सञ्चालन र व्युटिसियन प्रशिक्षक कमला कार्कीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सीकेको सीपलाई उपयोग गरेर राज्यको लगानी संरक्षण गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

‘सीप सिकेकाहरुलाई आफ्नै देशमा थुप्रै काम छ, र कुनै पनि काम सानो–ठूलो हुँदैन’, उनले भने– ‘यही काम विदेशमा गर्न हुने अनि आफ्नै देशमा गर्न नहुने हुन्छ र ?’ प्रशिक्षार्थीहरुले पनि सिकेको सीपलाई सकेसम्म अर्थोपार्जनका लागि उपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रशिक्षार्थीहरुले सीप सिक्न देखाएको तत्परताले पनि प्रशिक्षकहरुलाई खुशी तुल्याएको प्रशिक्षक कमलाले प्रतिक्रिया दिइन् । त्यस्तै प्रतिक्रिया लोकबहादुर र सरस्वतीको पनि थियो ।

मेची अञ्चलका चार जिल्लामा विभिन्नखाले सीप–विकास तालिम सञ्चालन गर्दै आएको केन्द्रले केही समयपछि अर्को तालिम दिने तयारी गरिरहेको केन्द्र प्रमुख मण्डलले जानकारी दिए ।

केन्द्रका सूचना अधिकारी धिमालका अनुसार केन्द्रले आर्थिक.वर्ष ०७३/०७४ मा २९६ जना पुरुष र १४४ जना महिला गरी ४४० जनालाई नियमित तालिम र ४०१ जना पुरुष र २९२ जना महिला गरी ६९३ जनालाई विशेष तालिम प्रदान गरेको थियो । यो लक्ष्यभन्दा बढी रहेको धिमाल बताउँछन् । यसका लागि लगभग ७० लाख रुपैयाँ खर्च गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (1 )