बन्नला त झापा खुला दिसामुक्त ?

विर्तामोड। सन् २०१७ भित्र झापालाई खुला दिसामुक्त बनाउने अभियान असफल भएको छ । झापाका ३१ हजार घरधुरीमा अहिले पनि शौचालय निर्माण हुन बाँकी रहेकाले सो अभियान असफल भएको हो ।

सन् २०१७ सकिन अब ४५ दिन मात्रै बाँकी छ । बाँकी रहेको डेढ महिनामा ३१ हजार घरधुरीमा शौचालय बनाउन असम्भव भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका सरसफाइ सहजकर्ता रुद्र न्यौपानेले सरोकारवालाको उदासीनताका कारण सन् २०१७ मा झापालाई खुला दिसामुक्त बनाउने रणनीतिक कार्ययोजना असफल हुने अबस्था सिर्जना भएको बताउनु भयो ।

झापामा अहिले पनि ३१ हजार सात सय ६८ घरधुरीमा शौचालय छैन । झापामा बुद्धशान्ति गाउँपालिका मात्रै खुला दिसामुक्त भएको छ । झापाका १४ स्थानीय तह अझै खुला दिसामुक्त हुन सकेका छैनन् ।

प्रशिक्षक विनोद शर्माले साझेदारको अभावका कारण पनि झापालाई तोकिएको समयमा खुला दिसामुक्त घोषणा गर्ने अभियान असफल हुने अबस्था आएको बताउनु भयो ।

पत्रकारले पाउने भए पुरस्कार
झापालाई खुला दिसामुक्त बनाउने अभियानमा सहयोग पुर्याउने झापाका उत्कृष्ट तीन जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । बिहीवार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सो घोषणा गर्नु भएको हो ।

झापालाई खुला दिसामुक्त घोषणा गरिएका दिन तीन जना पत्रकारलाई पुरस्कृत गर्ने प्रमुख पोर्तेलले बताउनु भयो । ‘यो अभियानमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने ठानेका छौँ’, उहाँले भन्नुभयो, ‘आशा छ सबैको सहयोगले यो अभियानले सफलता प्राप्त गर्नेछ ।’ उत्कृष्ट पत्रकारले पुरस्कार स्वरुप नगद ११ हजार, सात हजार र पाँच हजार पाउनेछन् ।

पत्रकारलाई फेलोसिप
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले खुला दिसामुक्त अभियानमा सञ्चार सहभागिता बढाउन फेलोसिपको व्यवस्था गरेको छ । नेपाल पत्रकार महासङ्घ सँगको सहकार्यमा डिभिजन कार्यालयले सो व्यवस्था गरेको हो । पत्रिका, रेडियो र टेलिभिजनमा कार्यरत पत्रकारले फेलोसीपको सुविधा पाउने पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (1 )