मृत व्यक्तिको मिर्गौला पनि हुन सक्छ प्रत्यारोपण

डा. दिव्या सिंह साह

प्राय: नेपालीहरु स्वास्थ्यमा गम्भीर समस्या नभएसम्म अस्पताल जाँदैनन् । मिर्गौला रोगीहरुको हकमा पनि यही हुन्छ । यदि समयमै अस्पताल गरेर उपचार गरेमा यो रोग सजिलै निको पार्न सकिन्छ । तर, हाम्रो जस्तो विकासशील देशहरुमा मानिसहरु थाहा नपाएर अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गर्छन्, जति बेला मिर्गौला फेल भइसकेको हुन्छ ।

मिर्गौला रोगका विषयमा जनचेतना जगाउने उद्देश्यले प्रत्येक वर्ष ‘विश्व मिर्गौला दिवस’ मनाउने गरिएको छ । यस दिवसको मुख्य उद्देश्य भनेकै समयमै पहिचान गरेर उपचार गरेमा मिर्गौला रोग रोकथाम गर्न सकिन्छ र निको पार्न सकिन्छ भनेर जनचेतना फैलाउनु नै हो ।

नेपालमा मिर्गौला रोगीको यकिन तथ्यांक छैन । तर, प्रत्येक एक लाख मानिसमध्ये तीन हजारलाई मिर्गौला रोगको संक्रमण हुने सामान्य आँकलन गरिएको छ । यद्यपि, यो रोग कुनै पनि उमेर समूहका मानिसलाई लाग्न सक्छ । अन्य विभिन्न रोगका कारण पनि मिर्गौला रोग लाग्न सक्छ ।

मिर्गौला रोग लाग्नासाथ यसको लक्षण नदेखिन पनि सक्छ । त्यसैले, चालीस बर्ष काटेका प्रत्येक व्यक्तिले यसको परीक्षण गराउनु पर्छ । मिर्गौला रोगको उच्च जोखिममा रहेका व्यक्तिले कुनै स्वास्थ्य समस्या नभए पनि वर्षमा कम्तिमा एकपटक मिर्गौलाको परिक्षण गर्नुपर्छ । र, कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

यति गरे मात्र पनि नब्बे प्रतिशत मिर्गौला फेल हुनबाट बचाउन सकिन्छ ।

को हुन्छन् उच्च जोखिममा ?

मधुमेह, उच्च रक्तचापका बिरामी मिर्गौला रोगको उच्च जोखिममा रहने गर्छन् । किनकी, अनियन्त्रित मधुमेह भएमा यसले मिर्गौलालाई क्षति पुर्‍याउने गर्छ । त्यस्तै, उच्च रक्तचाप अनियन्त्रित भएमा पनि यसले मिर्गौलालाई हानी पुर्‍याउँछ ।

परिवारमा कसैलाई मिर्गौला वा मधुमेहसम्बन्धी वंशाणुगत रोग भएमा पनि त्यस परिवारका अन्य सदस्यलाई मिर्गौला सम्बन्धि रोग लाग्न सक्छ । मुत्रनलीको संक्रमण, वंशाणुगत रोग, गर्भावस्था, अत्याधिक मात्रामा पेनकिलरको सेवन लगायत अवस्थामा पनि मिर्गौला सम्बन्धि रोग लाग्न सक्छ । यस्ता व्यक्तिले मधुमेहको पनि नियमित परीक्षण गर्नुपर्छ ।

लक्षण

त्यसबाहेक, जोखिममा नभएका व्यक्तिमा देहायका लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ः

– विहान वा बेलुकी खुट्टा धेरै सुन्निएमा वा गोलिगाठा सुन्निएमा

– विहान उठ्दा आँखाको डिल सुन्निएमा

– हिँड्दा अत्याधिक थकान महसुस भएमा

– धेरै पटक पिसाब लागेमा, राती सुत्दा पटक–पटक पिसाब जानु परेमा

– पिसाबमा अत्याधिक फिज आएमा, धमिलो तथा रातो पिसाब आएमा

– पिसाब फेर्दा ननिख्रिए जस्तो लागेमा, पिसाबको धार कम भएमा

– कोखा दुखेमा

– बारम्बार ज्वरो आएमा

हामी सामान्य समस्या हुँदा औषधी पसलमा गएर औषधी खान्छौ । यस्ता औषधीको सेवनले रोगको लक्षण त कम गर्ला तर, रोग निको हुँदैन । परिणामस्वरुप मिर्गौला फेल भएपछि मात्र रोगीहरु चिकित्सककहाँ पुग्ने र त्यसपछि डाइलासिस वा प्रत्यारोपण गर्नुको विकल्प रहँदैन । जुन आफैमा महँगो उपचार हो । त्यसैले मिर्गौला फेल हुन नदिन पनि रोगको समयमै पहिचान गर्न आवश्यक छ ।

मिर्गौला रोगले निम्त्यिाउने जटिलता

मिर्गौला सम्वन्धी रोग लागेमा व्यक्तिले स्वस्थ तरीकाले काम गर्न सक्दैन । त्यसैले आर्य आर्जनमा समस्या हुन्छ ।

सरकारले विपन्न नागरिककै लागि भनेर मिर्गौला प्रत्यारोपण तथा निःशुल्क डायलासिसको व्यवस्था त गरेको छ । तर यसमा पनि नियमित औषधीहरु खानुपर्ने हुन्छ । फेरी डायलासिस गरेमा शरीर त्यति धेरै स्वस्थ पनि हुँदैन ।

डायलासिसको तुलनामा प्रत्यारोपण राम्रो हो । तर यसका पनि आफ्नै किसिमका जटिलताहरु छन् । प्रत्यारोपण गरेपछि शरीर स्वस्थ भए पनि शरीरको कमजोर प्रतिरक्षा प्रणालीका कारण रोगको संक्रमण हुने सम्भावना उच्च हुन्छ । जीवनभर औषधी खानुपर्छ । परहेजमा बस्नु पर्छ । लगातार एक हप्तासम्म औषधी सेवन गर्न छोडेमा मिर्गौला फेल भएर पुरानै अवस्थामा पुगिन्छ । त्यसैले, प्रत्यारोपण गरेका प्रत्येक व्यक्तिले अनुशासित जीवनशैली अपनाउनु पर्छ ।

त्यति मात्र हैन, प्रत्यारोपण गर्छु भन्दैमा मिर्गौला दान गर्ने व्यक्ति सहज रुपमा उपलब्ध पनि हुँदैन । दिन चाहे पनि कतिपय अवस्थामा दान गर्ने व्यक्तिको मिर्गौला म्याच हुँदैन । मिर्गौला दान गर्ने व्यक्ति स्वस्थ हुन पनि जरुरी छ ।

नेपालमा मिर्गौलाको अनैतिक तरीकाले व्यापार हुन थालेपछि नजिकका व्यक्तिहरुले मात्र अंग दान गर्न पाउने व्यवस्था गरिएको छ । त्यसो त मिर्गौला दान मरेपछि पनि गर्न सकिन्छ । विशेषगरी, मस्तिष्क मृत्यु वा कार्डियोभास्कुलर मृत्यु भएका व्यक्तिको मिर्गाैला अर्को बिरामीलाई प्रत्यारोपण गर्न सकिन्छ । मृत्युपर्यन्त गरिने अंगदानलाई राष्ट्रव्यापी अभियानका रुपमा अघि बढाउन जरुरी छ ।

नेपालमा अंगदान गर्नेको संख्या बढ्दो क्रममा छ । तर पनि यसलाई राष्ट्रव्यापी अभियानका रुपमा अगाडी लैजान जरुरी छ । त्यस्तै, यसको दुरुपयोग नहोस् भन्नका लागि पनि अर्गान प्राक्युरमेन्ट सेन्टर (अंग खरीद केन्द्र)लाई पारदर्शी बनाउनुपर्छ । अंगंदान प्रकृया पारदर्शी भयो, नियम–कानुनमा आधारित भएर गरियो र यसको सही सदुपयोग भयो भने अंगदान पनि आँखा दान जस्तै सफल हुनसक्छ । अन्यथा, यसको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण

मेरै पहलमा सन् २००६ मा त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो ।
त्यसभन्दा अघि २००४ मा वीर अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको हो । तर, त्यसबेला शरीरले नै मिर्गौला लिन नसकेपछि उक्त प्रत्यारोपण सफल हुन सकेन ।

पछि डा. असर्फी शाहले निजी क्लिनिकमार्फत तीन–चार जना विरामीमा मिर्गौला प्रत्यारोपण गर्नुभयो । तर बिभिन्न कारणवस विरामीको मृत्यु भएपछि सरकारले प्रत्यारोपणमा निकै कडाई गर्‍यो । प्रत्यारोपण गर्नका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था सुरु भयो ।

सुरुमा त मिर्गौला प्रत्यारोपण गर्नका लागि लाइसेन्स लिनै गाह्रो थियो । लाइसेन्स लिएपछि पनि अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारी गर्न अर्को समस्या । पछि अष्ट्रेलियाकै प्रत्यारोपण विशेषज्ञ डा. डेविडको सहायतामा मिर्गाैलाको सफल प्रत्यारोपण गरियो ।

(त्रिवि शिक्षण अस्पताल, नेफ्रोलोजी विभागकी विभागीय प्रमुख प्रा.डा. दिब्या सिंह शाह नेपालकी चर्चित ट्रान्सप्लान्ट फिजिसियन हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकका रुपमा समेत कार्यरत छिन् ।)

अबलाइन खबरबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )