घर पाउँदा हर्षको आँशु

घर पाउँदा हर्षको आँशु

बिर्तामोड । आफ्नो उमेर सही बताउन नसक्ने पग्लीबारीका साहेब हेमरम नजिकैको प्लाइउड फ्याक्ट्रीमा मजदुरी गर्छन् । लामो समयदेखि बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित पग्लीबारीमा बस्दै आएका हेमरमको आफ्नो बस्न लायक घर थिएन ।

टाटीले बारेको फुसको घरमा लामो समय बिताएका हेमरमले जब बस्न लायकको घर पाए, तब उनको खुसीले सीमा नाघेको छ । भन्छन्, ‘यो मेरा लागि जीवनकै पहिलो खुसी हो ।’

उनी जस्तै, वडा नं. ८ प्रगतिनगरका मंगल मुर्मू (अन्दाजी ४० वर्ष) ले पनि उनकै जस्तो घर पाए । मोहियानी हकबाट प्राप्त भएको १५ धुर जग्गामा रातो टिन टलक्क टल्केको घरमा बस्न पाउँदा उनको पनि खुसीको सीमा थिएन ।

तराई–मधेश समृद्धि कार्यक्रम अन्तरगत प्राप्त बजेट, प्रदेश नं. १ का सांसद एकराज कार्कीको सांसद विकास कोषको रकम, बिर्तामोड नगरपालिकाको बजेट र सहारा नेपालको प्रबिधिक सहयोगमा निर्मित वडा नं. ८ का ४२ परिवारलाई घर हस्तान्तरण गरियो ।

त्यतिबेला सो समारोहमा उपस्थित भएका घरबारविहीन परिवारका सदस्यहरुको आँखामा हर्षको आँशु थियो ।

त्यसरी खुसी मनाउने परिवारकी सदस्य हुन्, नेहा मर्डी । उनको सानो परिवार भए पनि झुप्रोमै जीवन बित्यो । तर, अब उनको जीवनमा खुसी छाएको छ ।

पाँचधुरमा बनेको सानो चिटिक्क परेको घर, जहाँ आफ्ना परिवारका ५ जना सदस्यसँग बाँकी जीवन बिताउन पाउँदा अनिता हस्दालाई निक्कै खुसी लागेको छ ।

उनी भन्छिन्, ‘पानी पर्दा र घाम लाग्दा पनि घरमा बस्न गाह्रो हुन्थ्यो । अब ढुक्क भएको छ ।’

सोही ठाउँका अत्तरे सोरेन, पोलाइ सोरेन, लुखीराम सोरेन, नमिता सतार, प्रेमलाल टुडू, तालामयी सोरेन, गीता हस्दा, सीता हस्दादेखि सुफुल मुर्मूहरुको विगत पीडादायी थियो । अहिले उनीहरुले घर पाएपछि जिबन सहज बन्ने भउको छ ।

संविधानप्रदत्त आवासको हक प्राप्त गर्नबाट बञ्चित त्यो समुदायमा यतिबेला सुरक्षित आवासको अधिकार पाएकोमा उमंग छाएको छ ।

आवासको हक

झापामा स्थानीय तहहरु, सहारा नेपाल र ह्याविट्याट फर ह्युमानिटीको लगानीमा घर निर्माण भएका छन् ।

यसरी निर्मित घरहरु क्रमशः गरीब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिँदैछ । यसैक्रममा बिर्तामोड–७ स्थित मुन्सीबारी वरपरका बस्तीमा निर्माण गरिएका ३४ वटा घर हस्तान्तरण गरियो ।

झापाका आठ वटा स्थानीय तहसँग सहारा नेपाल र ह्याविट्याटको घर निर्माण सम्बन्धी गत वर्ष भएको सम्झौता अनुरुप ती घरहरु निर्माण भएका हुन् । जसमा प्रतिघर स्थानीय तहको ७५ हजार, ह्याविट्याटको ५० हजार र सहारा नेपालको २५ हजार गरी १ लाख ५० हजार लागत परेको छ ।

‘अब यस वर्ष झण्डै पाँचसय वटा घर आर्थिक लगानी र चार सय वटामा प्राविधिक सहयोगमा बनाउने लक्ष्य रहेको छ’, सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले भने, ‘जसमध्ये एक सय वटा बिर्तामोड भित्रै बन्ने छन् ।’

यता, बिर्तामोड नगरपालिकाले थप एकसय वटा घर निर्माणका लागि तयारी गरिरहेको छ । नगरको लगानी, सांसद विकास कोष र विभिन्न दातृ संस्थाहरुसँगको समन्वयमा ती घर निर्माण गरिने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

आवासको हकलाई जनताको अधिकारसँग जोडेर लैजानका लागि सरकारले प्रयास गरिरहेको र त्यसै क्रममा आफ्नो निर्वाचन क्षेत्रका कोही पनि जनता यो अधिकारबाट बञ्चित नहुन् भनेर आफूले तयारी गरिरहेको प्रदेश सांसद एकराज कार्की बताउँछन् । उनी भन्छन्, ‘सडकमा जतिसुकै गिटीबालुवा हाले पनि जनताको आवासको मौलिक हकलाई सम्बोधन गरिएन भने लोकतन्त्र आएको अनुभूति हुने छैन ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )