झापामा चरेसको कारोबार

झापामा चरेसको कारोबार

बिर्तामोड । झापामा लागूऔषधहरुमध्ये सबैभन्दा बढी चरेसको कारोबार हुने गरेको तथ्य खुलेको छ ।  खुल्ला सीमानाका कारण जिल्लामा अत्यधिक मात्रामा लागूऔषधको कारोबार हुने गरेको र त्यस मध्ये पनि चरेसको अत्यधिक कारोबार हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

लागूऔषध सम्बन्धी आर्थिक वर्ष २०७५÷०७६मा एक सय २५ वटा मुद्दा दर्ता भएका छन् । तिनमा १८ महिलासहित एक सय ८६ पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको एक वर्षको तथ्याङ्क हेर्दा १८ किलो ५ सय ग्राम चरेसको कारोबार भएको छ । कारोबारीमा संलग्नमध्ये ४३ जना अदालतको आदेशमा छुटेका छन् भने एक सय ५७ जना पुर्पक्षका लागि जेलचलान भएका छन् । चालू आर्थिक वर्षको एक महिना (साउन) मा मात्रै लागूऔषध सम्बन्धी २३ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार ०७५÷०७६मा डाइजापाम एक हजार सात सय ९० एम्पुल, लुपिजेसिक एक हजार सात सय ८६ एम्पुल, फेनारगन एक हजार सात सय ८९ एम्पुल, नाइट्रोसन एक हजार आठ सय सात चक्की, ब्राउन सुगर सात सय ६७ ग्राम ९९७ मिलिग्राम, गाँजा दुई किलो तीन सय ३५ ग्राम, नाइट्राभेट एक सय ८८ चक्की, इएसकेयुएफ ४३ बोतल भरिएको र दुई बोतल खाली बरामद भएको छ ।

आर्थिक बर्ष २०७४÷०७५मा गाँजाको कारोबार उच्च देखिएकोमा ०७५÷०७६मा चरेसको कारोबार बढी देखिएको छ । आर्थिक बर्ष ०७४÷०७५मा लागूऔषध सम्बन्धी एक सय २६ वटा मुद्दा दर्ता भएका थिए । जसमा एक सय ४९ पुरुष, ८ महिला, २३ बालक, संलग्न रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीले दिनप्रतिदिन लागूऔषध नियन्त्रणका लागि अभियान चलाए पनि कारोबारीको संख्यामा कमी नआएको तथ्यांकले देखाएको छ ।

लागूऔषध नियन्त्रणकै लागि काँकरभिट्टा क्षेत्रमा लागूऔषध नियन्त्रण व्यूरो नै परिचालन भए पनि भारतको पानीट्यांकी, नक्सलबाडी र शिलगढीसम्म पुगेर कारोबारीले विभिन्न वहानामा लागूऔषध नेपाल भित्र्याउने गरेका छन् । बिर्तामोडलाई लागूऔषधको ट्राञ्जिट पोइन्ट बनाइएको छ भने काँकरभिट्टाबाट सिधै काठमाडौंसम्म लागूऔषध पु¥याउने गरेको बताइएको छ । पछिल्लो समय बिर्तामोडमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न गिरोहलाई कारसहित नियन्त्रणमा लिए पनि लागूऔषध ओसारपसार गर्ने क्रम भने रोकिएको छैन ।

भद्रपुर, राजगढ, झापा बजार लगायतका क्षेत्रमा समेत कारोबारीले लागूऔषधको ‘डिलर’ नै सञ्चालन गरेका छन् । भारतीय कारोबारीसँग मिलेर उनीहरुले उक्त स्थानमा लागूऔषध राख्ने र नेपालका कारोबारीमार्फत बिर्तामोडमा ल्याउँदै अन्यत्र पठाउने गरेको खुलेको छ । पछिल्लो समय औषधि व्यवसायीले समेत कोरेक्स नामको लागूऔषध बेच्ने गरेको बताइन्छ । त्यस्तै फर्निचर उद्योगमा प्रयोग हुने डेनड्राइट समेत खुलेआम रुपमा औषधि पसलदेखि पुस्तक पसलसम्मले विक्री गर्ने गरेको बुझिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )