उबेला ढिकीको आवाजले दशैं आएको ‘फिल’ दिन्थ्यो !

उबेला ढिकीको आवाजले दशैं आएको ‘फिल’ दिन्थ्यो !

काठमाडौं । नेपालीको घर–आँगनमा दशैं प्रवेश भइसकेको छ । गाउँदेखि शहरसम्म बुढाबुढीदेखि बालबच्चासम्म दशैंको माहोलमा रमाउन थालिसकेका छन् ।

दशैंलाई मिठो खाने र राम्रो लगाउने चाडका रुपमा चिनिन्छ । तर, बढ्दो शहरीकरणसँगै मानिसहरुलाई मिठो खान र राम्रो लाउन दशैं पर्खिनुपर्ने स्थिति छैन । गाउँमा पनि धेरै युवाहरु विदेशिएकाले उनीहरुले पठाउने रेमिट्यान्सले गर्दा परिवारहरुको आर्थिक स्थिति उकासिएकै छ ।

यी यावत् कुराले दशैं मनाउने तरिका पहिलेभन्दा फरक भएको छ । धेरैले त दशैंलाई घुमघामको चाडका रूपमा समेत लिन थालिसके । यस्तो चालचलनबाट पुराना पुस्ताका मानिसहरु भने सन्तुष्ट छैनन् । उनीहरु भन्ने गर्छन्, ‘अहिलेको दशैं त के दशैं, हाम्रो पालाको दशैंको कुरा गरौं न ।’

रामप्रसाद ढुंगाना पेशाले कृषक हुन् । धादिङमा बसोबास गर्ने उनी राजनीति र समाजसेवामा पनि सक्रिय छन् । ७१ वर्षीय ढुंगाना आजकाल दशैंको रौनक पहिलेजस्तो नरहेको बताउँछन् । उनले अनलाइनखबरसँग आफ्नो अनुभव यसरी सेयर गरेः

नौरथा लाग्ने बितिक्कै दशैंको तयारी सुरु गरिन्थ्यो । सबैभन्दा पहिले घरमा सुकेका दाउरा कति छन् ? थप कति चाहिन्छ अनुमान गरेर जंगल जाने काम सुरु हुन्थ्यो ।

झिसमिसे बिहानीमै गाउँभरीका बलिया तन्नेरीहरु धारिलो खुर्पा र कम्मरमा नाम्लो–डोरी बेकेर ठाडो भाका गाउँदै जंगलका लागि उकालो चढ्थे । सुइसुरा हाल्दै खुर्पाले दाउरा काट्दै गरेको आवाजले नौरथाका सुरुवाती दिनमा बिहानीमा जंगल नै गुञ्जयमान बनाउँथे ।

दुई तीनमै दाउराका काम सकिन्थ्यो । दाउरापछि दशैंलाई नभई नहुने चिज हुन्थ्यो, चामल र चिउराको बन्दोबस्ती ।

तन्नेरीहरु जंगल चहार्दै गर्दा घरमा आमाहरुले दशैंको चामलका धान सुकाउन र चिउराका लागि धान भिजाउन थाल्थे । अनि, घरका ढिकीजाँतो लिपपोत र मर्मतका कामहरु सुरु हुन्थे । हरेक परिवारले दशैंमा टिका लगाउन आउनसक्ने सम्भावित आफन्तको संख्या आंकलन गरेर चिउरा तथा चामलका लागि एक पाथीदेखि मुरीसम्म धान उसिन्थे, सुकाउँथे । दिनभरीका अरु काम यथावतै हुन्थे ।

चिउरा र चामलका लागि ढिकी कुट्ने चलन हुन्थ्यो । हरेक घरमा ढिकी र जाँतो हुन्थे । ढिकी–जाँतो र नाङ्लोबाट गरिने काम पुरुषले गर्ने होइन भन्ने मान्यता थियो । त्यसैले कमै मात्र घरमा पुरुषहरु ढिकी र जाँतो चलाउने काम गर्थे । धान कुट्नका फलामको दाँती भएको मुसल हुन्छ भने चिउरा बनाउन फलामको दाँती नभएको तर चिल्लो काठको मुलह हुन्थ्यो । एक जनाले घान लगाउने, अरु दुई तीन जनाले पालैपालो ढिकी खिच्ने काम हुन्छ, त्यसलाई निफनेर भुस र चामल बनाइन्छ ।
चिउरा तयार गर्न उसिनेको चामललाई ढिकी नजिकै अँगेनो बनाएर हाँडीमा भुटिन्छ । हाँडीमा पिटपिट फुल उठेपछि भुटेको धानलाई ओखलमा राखिन्छ । एक पटकमा एक मुठ्ठिका दरले धान भुट्दै चिउरा बनाउँदै गर्नुपर्ने भएकाले यो काम कठिन हुन्छ तर तर चिउरा स्वादिला हुन्छन् ।

गर्मी सकिएको जाडो आईनसकेको ठिक्कको बिहानीमा बङ बङ ढिकी चलेको आवाजले गाउँमा दशैंको रौनक आएको भान हुन्थ्यो । चिउरा तथा धानको लागि दुई तीन घरमा मानिस एउटा ढिकीमा जम्मा हुन्थे, पालैपालोे एक–अर्का मिलेर काम गर्थे । सुख, दुःखका गफ र दशैंका धेरै योजनाहरु ढिकीमै बन्थे ।

ढिकीजाँतोको काम सकिए पछि घर लिपपोत गर्ने, वरपर झार ओखल्ने, बर्खा भरीको पानीले बिगारेको गोरेटो घोडेंटो मर्मत गने, घरमा कमेरो र रातो माटो लगाउने हतारो हुन्थ्यो । घरमा माटोको भागमा रंग्याई सकेपछि काठ रंग्याउन मोही घाँस र चिलाउनेको बोक्रा पकाएर काली बनाईन्थ्यो । पछि–पछि रेडियोको ब्याट्रीको कालोलाई पनि प्रयोग गरिने चलन आयो ।

बाल बच्चाहरु बिद्यालय सिंगार्न मेहनत गर्थे भने घर–परिवारका सदस्य घर सिंगार गर्न । आफ्नै जंगलको दाउरा, घरकै धानको चिउरा र चामल, घरमै पालेको वा आफ्नो गाउँबाट किनेर ल्याएको खसी चिरिच्याटट् पारेको बाटोघाटो, बस्तुभाउलाई प्रशस्त मात्रामा घाँसपातको जोहो गर्ने दिनसम्ममा फूलपाति आउँथ्यो ।

फूलपातीको अघिल्लो दिनसम्ममा शहर गएका लाहुरेहरु घर फिर्ने क्रम सुरु हुन्थ्यो । सुकिला लूगा लगाएका नयाँ मान्छेहरुको चहलपहलले गाउँको माहोल नै अर्कै हुने । फूलपाती पुजा गरेपछि सबै काम थाँति राखेर मानिसहरु दशैंमा रम्थे रमाउँथे । फूलपातीबाटै लिंगे, रिँगटे पिङहरु हाल्न सुरु गरिन्थ्यो । केटाकेटीका लागि ससाना पिङ घर घरै हुन्थे भने दोबाटो र मैदानै पिच्छे ठूला पिङ हुन्थे ।

टिकाको दिनपछि त सबै आफन्तकहाँ टिका लगाउनै व्यस्त हुने भइहाले । त्यतिबेला बच्चाहरुलाई दक्षिणाको ठूलो महत्व हुन्थ्यो । हाम्रा पालामा दक्षिता पाइने भनेको पाँच–पैसा दश पैसा नै हो ।

तर अहिले…

न गाउँमा ढिकी र जाँतो छ न त त्यसको अवाज नै । किनेका चिउरा, किनेको चामल, किनेको ग्यास घरमा छन् तर स्वाद छैनन् । शहर गएकाहरु टिको लगाउन मात्रै आउँछन् र फर्किहाल्छन् । घर दोबाटो र मैदानै पिच्छे ठूला पिङ छैनन् ।

नौरथाबाट उल्लासपूर्ण हुनु पर्ने हो दशैं । तर फूलपाती आउनै लाग्दा पनि रौनक छैन । साँची फूलपाती कहिले हो ? अनलाइनखबर बाट

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )