रोगले मासिए सलकपुरका सुन्तला

रोगले मासिए सलकपुरका सुन्तला

सलकपुर । सुन्तलाको ‘गोल्डेन भ्याली’ का नामले परिचित इलामको रोङ गाउँपालिका–६ सलकपुर केहीवर्ष अघि सम्म सुन्तला सिजनमा पहेँलपुर देखिन्थ्यो । मुख्य आम्दानीको स्रोत मानिएको सुन्तला खेती रोगका कारण मासिएपछि भने यहाँका कृषक मारमा परेका छन् । पाँच वर्षअघिसम्म वार्षिक करोडौँ रुपैयाँको सुन्तला निर्यात गर्दै आएका कृषक अहिले मरेका सुन्तलाको बोटको दाउरा बाल्न बाध्य छन् ।

गाउँका अधिकांशको जीविका सुन्तला खेतीले नै धानेको थियो भने सुन्तला खेती हेर्नका लागि बार्षिक हजारौँ पर्यटक इलामको सलकपुर पुग्ने गरेका थिए । गाउँको अर्थतन्त्र धानेको नगदे बाली सुन्तलाको बोट मर्न थालेपछि स्थानीयको आयस्रोत मासिएको छ । सुन्तलाको टुप्पा पहेँलो हुने र बोट नै सुकेर जान थालेपछि सुन्तलाको उत्पादनमा कमि आएको हो ।

गाउँको माथिल्लो क्षेत्रमा अझैँ उत्पादन ठप्प छ । त्यहाँका सुन्तलामा पनि क्रमशः रोक लाग्न सुरु गरेको छ । सलकपुरको तल्लो भेगमा भने सन्तुला उत्पादन हुनै छाडेको छ । कुनै कुनै बोटमा रोगले छोए पनि सामान्य फल दिँदैछ । तर, ती सुन्तलाको दाना साना हुने, अमिलो हुनेजस्ता समस्याले हैरान भएको स्थानीय कृषक पिङ्गला तामाङले बताईन् ।

यस्तै, सुन्तला खेतीसँगै जोडिएको यहाँको पर्यटकिय महत्व समेत घटेको छ । कुनै समय सुन्तला फल्ने मौसममा सलकपुरमा आन्तरिक पर्यटक र बाह्य पर्यटकको घुइँचो लाथ्यो । तर, अहिले त्यहाँ पर्यटक ह्वातै घटेका छन् । पूर्वी तराई झापासँगै भारतका सिमावर्ती स्थानहरु लुवागड, नक्साल, सिलिगुढी, पानीघट्टा, दार्जिलिङलगायत पश्चिम बंगालका पर्यटक आउँथे । तर, पछिल्लो समय सुन्तला उत्पादन घटेपछि पर्यटकको चहलपहल समेत सुस्ताएको छ । जसका कारण यहाँ सञ्चालन भएका होमस्टे तथा ग्रामिण होटलहरूमा असर परेको रोङ गाउँपालिका–६ का वडाध्यक्ष सुवास तामाङले बताए ।

आम्दानीको स्रोत सुन्तला मासिन थालेपछि रोङ गाउँपालिकाले पनि अध्ययन सुरु गरेको छ । विज्ञलाई बोलाएर रोङले अध्ययन गरिरहेको हो । जसका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का पूर्ववरिष्ठ वैज्ञानिक खड्कभक्त पौडेलले अध्ययन गरिरहेका छन् । सलकपुरका सुन्तलामा ‘रिस्ट्रस डिक्लाइन’ सँगै जरा र बोक्रा कुहिने रोग रहेको र जसका लागि जीवातुमा आधारित झोल कम्पोस्ट मल प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

अहिले मासिएको सलकपुरको सुन्तलाखेती पुनःब्यूताउन सके यहाँका कृषकको खस्किएको आर्थिक अवस्थामा सुधार आउने छ । त्यसैले सम्बन्धित निकायले बेलैमा रोगको पहिचान गरी रोकथामको पहल गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )