पूर्वाञ्चल दैनिकको रजत महोत्सवमा अग्रज पत्रकारहरु पुरस्कृत हुँदै

पूर्वाञ्चल दैनिकको रजत महोत्सवमा अग्रज पत्रकारहरु पुरस्कृत हुँदै

झापा । यस वर्षको ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिने भएको छ ।

१५ हजार रुपैयाँ पुरस्कार राशि रहेको यस अघिको पुरस्कार भद्रपुर निवासी अग्रज पत्रकार नकुल काजी र मेचीनगर निवासी चन्द्र भण्डारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।

फागुन १८ गते आइतवार रजत महोत्सवको अबसर पारेर पूर्बाञ्चल दैनिकले मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार बितरण गर्ने खाज विहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ ।

पत्रिकाका सम्पादक एकराज गिरीले पुरस्कारको विषयमा जानकारी दिँदै रजत महोत्सवमा ०७५ र ०७६ को उक्त पुरस्कार एकैसाथ चारजना झापाली अग्रज पत्रकारहरुलाई प्रदान गर्न लागेको जानकारी गराउनुभयो ।

पूर्वाञ्चल दैनिकका तत्कालीन प्रधान सम्पादक मदन ढकालको ०७३ मंसीर २३ गते निधन भएपछि पत्रकारितामा उहाँको योगदानको कदर र सम्झनाका लागि संस्थाले ०७४ सालमा ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको थियो ।

हरेक वर्ष वार्षिकोत्सवमा वितरण गर्न सुरु गरिएको पुरस्कार पहिलो पटक पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादक, अग्रज पत्रकार क्षेत्रीलाई प्रदान गर्ने निर्णय भएको थियो ।

पुरस्कार प्रदेश नम्वर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच प्रदान गरिने सम्पादक गिरीले जानकारी दिनुभयो ।

पूर्वाञ्चल दैनिकको स्थापनाकालदेखि अनवरत सेवारत् अग्रज पत्रकार पत्रिकाका डेस्क सम्पादक लक्ष्मण ढकाललाई ‘उत्कृष्ट पत्रकार’ सम्मान र व्यवस्थापक चन्द्रकान्त ढकाललाई ‘उत्कृष्ट व्यवस्थापक’ सम्मान प्रदान गरिने भएको छ ।

‘उत्कृष्ट स्तम्भकार÷लेखक’ सम्मान यस वर्ष मानवअधिकारकर्मी विष्णुप्रसाद खरेललाई प्रदान गरिने छ । विशेषाङ्कका लेखकहरु र संस्थाका कर्मचारीलाईसमेत सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रिका प्रकाशनको २४ बर्ष पूरा गरी २५ बर्षमा प्रवेश गरेको अबसरमा पत्रिकाले ‘पूर्वाञ्चल’ विशेषाङ्कको लोकार्पण समेत गर्ने भएको छ ।

रजत महोत्सवको सन्दर्भमा पत्रकारिता विषयका विविध पक्ष समेटेर प्रकाशित ‘पूर्वाञ्चल’ विशेषाङ्क २२४ पृष्ठको रहेको पत्रिकाका सहसम्पादक सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

पुस्तकमा विभिन्न खण्डमार्फत विषयवस्तु समेटिएको छ । झापाको मात्र नभएर मेची अञ्चल र मुलुककै पत्रकारिताको पृष्ठभूमि, अवस्था तथा पत्रकारिता विषयका विविध पक्ष समेटिएको हुनाले पत्रकारिता विषयमा खोज अध्ययन गर्न चाहनेहरुका लागि उक्त विशेषाङ्क स्रोत पुस्तक बन्न सक्ने विश्वास गरिएको सह सम्पादक भण्डारीले बताउनुभयो ।

त्यस्तै रजत महोत्सवको अवसरमा कार्यक्रम परिसरमा पूर्वाञ्चल दैनिकका फोटो पत्रकार तथा फोटो पत्रकार महासंघ झापाका अध्यक्ष कमलप्रसाद पाण्डे ‘बिनोद’को एकल फोटो प्रदर्शनी रहको र फोटो मानव जीवनशैलीसंग सम्वन्धित रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रजत महोत्सवको अवसरमा कार्यक्रम परिसरमा पूर्वाञ्चल दैनिकका व्यङ्ग्य चित्रकार (कार्टुनिष्ट) प्राज्ञ पवन राजवंशीको एकल व्यङ्ग्य चित्र (कार्टुन) प्रदर्शनीमा रहने छ । व्यङ्ग्य चित्रले देश,काल, परिस्थतिलाई उजागर गर्ने पत्रिकाका उपसम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

अग्रणी सञ्चार गृहको रुपमा स्थापित पूर्वाञ्चल दैनिक मोफसलमै पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पत्रिका भएको संस्थाका व्यवस्थापक चन्द्रकान्त ढकालले बताउनुभयो । रजत महोत्सवको समुद्घाटन फागुन १८ गते आइतबार बिर्तामोडको अतिथि सदनमा हुने छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )