ढकमक्क गुराँस,जंंगलनै राताम्मे

ढकमक्क गुराँस,जंंगलनै राताम्मे

छवि चापागाँइ
पाँचथर । विश्वमा माहामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) का कारण जंंगलनै राताम्मे हुनेगरी ढकमक्क गुराँस फुलेको सिजनमा पनि सुकेपोखरी–लोहाकिल क्षेत्र सुनसान छ । फिदिम नगरपालिका १४, फाल्गुनन्द गाउँपालिका ३ र इलामको सन्दकपुर गाउँपालिकाको त्रिकोणात्मक संगमस्थलमा रहेको लोहाकिल डाँडा र सुकेपोखरीमा पर्यटक आउन छाडेपछि सुनसान भएको हो ।

यस क्षेत्रमा अहिले मनै लोभ्याउने गरी ढकमक्क राताम्मे गुराँस फुलेको भएपनि कोरोना भाइरसका कारण पर्यटक छैनन् । गुराँस फुल्ने यो सिजनमा पर्यटकको चहलपहल बाक्लो हुने गरेकोमा कोरोना भाइरसको संक्रमणले जमघट र हिँडडुल हराउँदा पर्यटक नआएको स्थानिय सुरेश राईले वताउनुभयो । यसपाली गुराँस गजबै फूल्यो तर कोरोनाका कारण घुम्नेहरु नआउँदा सुनसान भएको फाल्गुनन्द ३ निवासी स्थानिय युवा अनिस तामाङले बताउनुभयो ।

नयाँ वर्षको आसपासमा पनि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल छैन् । नयाँ वर्षको समयमा लाग्ने मेला पनि यस वर्ष नलाग्ने भएको छ । यस क्षेत्रमा विशेषगरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि वैशाखसम्म लालीगुराँस हेर्न पर्यटक पुग्ने गर्थे । समुद्री सतहदेखि करिब
३ हजार फिट उचाइमा रहेको क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये १२ प्रजातिका गुराँस एकै ठाउँमा पाइन्छ । मेचि राजमार्गअन्तर्गत पाँचथर स्थित पौवाभञ्ज्याङ बजारबाट सुकेपोखरीसम्म पाँच किलोमिटर मोटर यात्रा गर्न सकिन्छ ।

सुकेपोखरीबाट आधा घन्टा पैदल हिँड्दा लोहाकिल–सुकेपोखरी पुगिन्छ । जहाँबाट बिहानै रहरलाग्दो सुर्योदयको दृष्यावलोकन गर्न समेत सकिन्छ । लोहाकिलसँगै पर्यटकीय स्थल सुकेपोखरी छ । नजिकै साधुटार, राँके, देउराली, धार्मिक पर्यटकीय क्षेत्र सिलौटी र लब्रेकुटि जस्ता सुन्दर ठाउँ छन् । यस क्षेत्रलाई प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके पर्यटन विकाससँगै देशको अर्थतन्त्रमा समेत सहयोग पुग्ने स्थानियबासीको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )