फेरि भारतीयद्वारा सीमा क्षेत्रमा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास, सशस्त्र प्रहरीले गोली चलाएपछि भागाभाग

फेरि भारतीयद्वारा सीमा क्षेत्रमा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास, सशस्त्र प्रहरीले गोली चलाएपछि भागाभाग

झापा । दक्षिणी झापाको कचनकवल सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका छन् ।
भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षा कर्मीसहित अस्थायी पोस्टमा आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेका हुन् ।

कचनकवल- १ स्थित घेराबारीस्थित १२५/१० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार शनिवार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए । प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए ।
यता भारतीय नागरिकले सीमा क्षेत्रमा आएर आक्रमण प्रयास गरेपछि भारतीय एसएसबीसँग जानकारी गराइसकेका छौ, एसपी कोइरालाले भने, ‘साँझ घटना घटेकोले भोलि आइतबार यस विषयमा भारतीय एसएसबीसँग छलफल गर्छौ ।’ केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए ।

सोही विषयलाई लिएर उनीहरू फेरि आएको बताइएको छ । उता केही दिन अघि मात्र झापा गाउँपालिका- ४ स्थित सुकुम्वासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलरमा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका थिए । दुई जना भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीय नागरिक आएर आक्रमणका प्रयास गरेका थिए । त्यसको भोलि पल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकहरूले गल्ती स्विकार्दै माफी मागेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )