दाना नलागेपछि मकैका बोट फाँड्दै झापाका किसान

दाना नलागेपछि मकैका बोट फाँड्दै झापाका किसान
चिरञ्जीवी  घिरेमि

झापा, जेठ ७ । झापा गौरादह–५ का किसान बुद्ध फुयाँलले एक विघा क्षेत्रफलमा सुपरटान्स नामक हाइब्रिट जातको मकैको बिउ लगाए । एउटै बोटमा तीनवटासम्म घोगा लागे । तर, मकै पाकिसक्नु पर्ने बेलामा पनि दाना भने लागेन ।

एउटा बोटमा पनि दाना नलागेपछि उनले मकै फाँड्न थालेका छन् । फाँडेको मकै अहिले भैँसीको घाँस भइरहेको छ । ‘घोगा हेर्दा लोभलाग्दा देखिन्छन् । तर, पाकिसक्नु पर्ने बेला भइसक्दा पनि दाना भने लागेन,’ खेतमा मकै फाँड्दै गरेका फुयाँलले भने, ‘अब फाँडेर भैँसीलाई घाँस खुवाउँदैछु।’

कृषि पेसा नै गरेर परिवार चलाउँदै आएका फुयाँललाई अब मकै खेतीमा लगाएको लगानी कसरी उठाउने भन्ने चिन्ता छ । फुयाँलले मकै रोपेदेखि अहिलेसम्म एक लाख खर्च भएको बताए ।

‘हाम्रो त पेसा नै यही हो । कृषि गरेरै छोरा काठमाडौंमा पढाउँदैछु’, उनी भन्छन्, ‘यसरी नै घाटा लाग्यो भने त परिवार कसरी चलाउने ? अब यो घाटा कसरी पूर्ति गर्ने ?’

सोही ठाउँकी किसान मेनुका रेग्मीले लगाएको हाइब्रिड मकै पनि उस्तै छ । पाँच कठ्ठा क्षेत्रमा लगाएको मकैको कहीँ दाना लागेको छ त कहीँ घोगा मात्र छ ।

‘एउटै  बारीमा कुनैमा दाना छ, कुनैमा घोगा मात्र छ’, उनले भनिन्, ‘यस्तो के भएको होला अचम्म लाग्छ । बिउ नै काम नलाग्ने भनौं भने कहीँ त दाना लागेको छ ।’

उनले स्थानीय सरकारलाई जानकारी गराउँदा पनि चासो नदेखाएको गुनासो गरिन । किसानलाई समस्या पर्दा कम्तिमा प्रविधिक सेवा दिए सहज हुने उनको भनाई छ ।

जिल्लाको गौरादहमा मात्र हैन अर्जुनधारा, कमल र कचनकवलका कृषकको मकैमा पनि दाना लगेको छैन ।

एक भारतीय कम्पनीले उत्पादन गरेको हाइब्रिट बिउमा कतै दाना लागेको त कतै घाेगा मात्र भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

ज्ञान केन्द्रले अहिलेसम्म २० विघा क्षेत्रमा लगाइएको मकैमा दाना नलागेको भन्ने जानकारी प्राप्त भएको जनाएको छ ।

‘अहिले त २० बिगाहको मात्र जानकारी आएको छ । यसमा चाहिँ म आफैँ गएर अनुगमन गरेको छु’, ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले भने, ‘अझै जानकारी आउने क्रम छ । अरु धेरैमा यस्तो समस्या हुन सक्छ ।’

उनका अनुसार २० बिगाह क्षेत्रफलमा मात्र लगाइएको मकैमा दाना नलागेको भए पनि किसानको करिब १५ लाख डुब्छ ।

भारतीय कम्पनी त्रिमूर्तिको टिएमएच ८२६ हाइब्रिड, सिपी ८०८ काे बीउमा  दाना नलागेको उनले बताए । अनुगमनका क्रममा एउटै बिउ पनि कतै राम्रो फलेको त कतै दाना नलागेको भेटिएकाे उनले जानकारी दिए ।

बिउमा मिसावट भएका कारण यस्तो भएको हुन सक्ने उनको भनाई छ । ‘बिउमा मिसावट भएको एउटा शंका छ । अर्को तापक्रम पनि नमिलेको हुनसक्छ’, उनले भने, ‘कतिपय ठाउँमा सिँचाइ अभावका कारण पनि यस्तो समस्या भएको हुनसक्छ । हामी यसबारेमा अध्ययन गरिरहेका छौँ ।’

मकैमा घोगा नलागेको विषय मन्त्रालयमा पठाउने र सरकारले नीतिगत निर्णय गरेपछि मात्र कृषलाई के क्षतिपूर्ति दिने विषयमा भन्न सकिने उनले बताए ।

उनले झापामा ३६ हजार पाँच सय हेक्टरमा चैत र वैशाखमा उत्चैपादन हुने जातकाे मकै लगाइएकाे जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )