भारतमा अलपत्र परेका नेपाली ल्याएर राख्न झापामा ८५० बेडको होल्डिङ सेन्टर

भद्रपुर, जेठ ७ । भारतका सीमा नाकामा रहेका नेपालीलाई ल्याएर राख्नका लागि झापामा ८५० बेडको होल्डिङ सेन्टर तयारी गरिएको छ ।

भद्रपुर नगरपालिकामा रहेको मेची बहुमुखी क्याम्पसमा ३००, विर्तामोडस्थित कञ्चनजंघा हेल्थ इन्स्टिच्यूटमा २००, शिवसताक्षी नगरपालिकाको राष्ट्र रमणीय आदर्श माविमा १५० दमकमा रहेको मानसरोवर इन्ष्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी र मदन भण्डारी प्राविधिक शिक्षालयमा १००/१०० सय गरी जम्मा ८५० बेडको होल्डिङ सेन्टर तयार गरिएको कोरोना संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले बताए । मेचीनगर नगरपालिकामा रहेको राधा स्वामी भवन र आदर्श माविमा थप १५० बेडको होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको छ ।

उनले भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका नेपालीहरुलाई उद्धार गरेर होल्डिङ सेन्टरमा राख्न थालिएको बताए । अबैधानिक बाटोबाट आउँदा कोरोना संक्रमणको जोखिम हुने हुँदा भारतीय सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई बैधानिक बाटोबाट ल्याउन सरकारसँग माग गरिरहेको बताए ।

उनले भारतका विभिन्न स्थानबाट फर्किएका नेपालीहरुलाई झापाका भए सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइदिने र बाहिरका भए यिनै होल्डिङ सेन्टरमा राखेर स्वाथ्य परीक्षण पछि सम्बन्धित प्रदेश वा जिल्लामा पठाइने व्यवस्था गरिने बताए । उनका अनुसार झापामा विभिन्न पालिकाहरुका यस अघि नै २७ वटा क्वारेन्टिन रहेका र थप गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )