इमान्दार चोर

इमान्दार चोर

विष्णु निरौला आचार्य
अब त बर्खा लाग्न लाग्यो।दाउरा काट्ने खेताला खोज्नुपर्ने।आजकाल गाउँका युवा सबै बिदेशिए।खेताला पाउनै मुस्किल।एक्लै बर्बराउँदै डोको बुन्दै थिए बिरध्वज।टुप्लुक्कै आइपुगे हर्कमान र भने  हैन हौ बिरध्वज किन एक्लै बर्बराको ? खेताला नपाएर के भो त तिमी हामी पर्म गरौंला न मेरो पनि बर्खे दाउरा छैन।अझ तिम्रो त छोरा साथमै छ ।म एक्लै भएर पनि सबै काम सम्हाल्दै आइरहेको छु।

ए हर्कमान पो आइपुगेछन् , ल बस। छेउमा भएको मुढा दिँदै बोले बिरध्वज।सुन्तलीले चिया पकाएर ल्याइन्।सबैजना बसेर रमाइलो गफ गर्दै चिया खाए। भोलि बिरध्वजको दाउरा काट्ने निधो गरेर घरतिर लागे हर्कमान।भोलिपल्ट आफूसँग भएका हतियार बाम्फोक,बन्चरो लिएर बिरध्वजका बाबुछोरा जङ्गलतिर लागे।

त्यतिबेला सम्ममा हर्कमान पनि पुगिसकेका थिए।दिनभरी दाउरा काटेर साँझ पर्न लाग्दा उनीहरू घर फिरे।गलेको शरीर घर पुगेर मिठो चिया खाएर मात्रै जाऊ भनेर बिरध्वजले भनेपछि हर्कमान पनि बिरध्वजकै घरतिर लागे।गफगाफमै चिया खाएको पत्तो समेत भएन।झमक्कै अँध्यारो भएकोले हर्कमान घर लागे।

बाहिर सिकुवामा राखेको बाम्फोकमा उनको आँखा पर्यो।दिउँसो दाउरा काट्दा देखि नै उनको आँखा त्यो बाम्फोकमा गडेको थियो।कसरी हात पारौं भन्ने दाउमा भएको हर्कमानलाई ुके खोज्छस् कानो।। आँखोु भनेजस्तै भो।अँध्यारोमा बाम्फोक बोकेर उनी टाप कसे।यता बिरध्वजको परिवारले खाना खाइसकेपछि दिउँसो चलाएका हतियार थन्क्याउन भन्दै छोरा बाहिर आए।सिकुवामा आफैंले बोकेर ल्याएको बाम्फोक बाहेक अरु सबै वस्तु थिए ।यताउता हेरे,खोजे,कहिँ पाएनन् र बुबालाई सोधे।

अघि आफुले नि त्यहीँ देखेको बाम्फोक अहिले नहुँदा बिरध्वजलाई हर्कमान प्रति शंका जाग्यो।यसभन्दा अघि पनि दाउ छोपेर लामो हात गर्ने हर्कमानको बानीसँग परिचित उनले छोरालाई कतै परेको होला ,बिहान उज्यालोमा हेर्नुपर्छ ,दिनभरी काम गरेर गलेको शरीर ,गएर सुत भने।भोलिपल्ट बिहान चिया खाने निहुँले हर्कमान बिरध्वजकोमा आए।सुन्तली चिया पकाउँदै थिइन् ।यत्तिकैमा कुराकानीकै शिलशिलामा बाम्फोक हराएको कुरा निस्कियो।बिरध्वजले हर्कमानको अनुहार पढेरै अन्दाज लगाए कि बामफोक बेलुका घर जाँदा उनैले चोरेर लगे।

हरेक काममा सहयोग गर्ने साथी ,पिर पार्नु भएन,बुद्धि लगाएर बिरध्वजले छोरालाई भने छोरा सुन त हिजो बेलुका अँध्यारो भैसकेकोले हामीले बाम्फोक पक्का पनि जङ्गलमै छोडेर आएछौँ।अहिले खाना खाएर जङ्गल गएर हेर  बाम्फोक हिजो हामीले दाउरा काटेकै ठाँउमा छ।

बिरध्वजको कुराले हर्कमानलाई झस्को पस्यो।हतार घर गएर बाम्फोक लगेर हिजो दाउरा काटेको ठाँउमा सरक्क राखिदिएर फर्किए।उता बिरध्वजको छोरा खाना खाएर मन नलागी नलागी जङ्गलतिर लागे।दाउरा काटेको ठाँउमा पुग्दा उनी अचम्मित भए ।खुल्ला आकाशमुनि रातभरि पानी परेको तर बाम्फोक ओभानै थियो ।
सूर्योदय १२ ,करफोक,इलाम

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )