झापाका ग्राहकको रोजाइमा जुम्लाको स्याउ

झापाका ग्राहकको रोजाइमा जुम्लाको स्याउ

बिर्तामोड । ‘लौ आयो है जुम्लाको स्याउ । एक सय पचास रुपैयाँको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक अनि ताजा स्याउ, खाऔं , स्वदेशी उत्पादनलाई माया गरौं ’ झापा बिर्तामोडको पश्चिम बस स्टेण्डमा एउटा ट्रकको डालाबाट एक व्यक्ति यसरी ग्राहकलाई बोलाउँदै जुम्लाको स्याउ बेचिरहेका छन् ।
राजमार्ग भएर यात्रा गर्ने यात्रीहरु उनको आवाज सुनेर टक्क रोकिन्छन् अनि नपत्याएर सोध्छन् ‘के यो साँच्ची नै जुम्लाको स्याउ हो?’ ती व्यक्ति पनि ग्राहकलाई जुम्ला गएर बोटबाट स्याउ टिपेर ल्याएको भन्दै जुम्लाको स्याउ बेच्न व्यस्त देखिन्छन् ।

 

 

ट्रकको डालाबाट जुम्लाको स्याउ बेच्ने ती व्यक्ति हुन् झापा शिवसताक्षी ११ दूधेका रमेश रसाइली । उनी पेसाले ट्रक चालक हुन् । उनी सीजी कम्पनिको सामान लिएर जुम्ला गएका थिए । त्यहाँबाट फर्कदा त्यहाँका स्याउ व्यापारी टोपबहादुर शाही र चन्द्रनाथ योगीले जुम्लाको स्याउ सुर्खेतसम्म लैजान भनेका थिए । स्याउ व्यापारीले सुर्खेतमा स्याउ बिक्री त्यती नहुने बताएपछि रमेशले उनीहरुलाई जुम्लाको स्याउ झापा लगेर बेच्न सुझाए ।

त्यसपछि एक ट्रक जुम्लाको स्याउ लिएर उनीहरु झापा आए । उनीहरुले ल्याएको जुम्लाको स्याउ खानमा मिठो र राम्रो हुनुका साथै मुल्य पनि आधा सस्तो रहेकोले एक सातामै सकियो । त्यसपछि उत्साहित भएर उनीहरुले फेरि अर्को एक ट्रक जुम्लाको स्याउ लिएर झापा आए ।
अहिले झापाका विभिन्न बजारहरुमा जुम्लाको स्याउ धमाधम बिक्री गरिरहेको रमेशले बताए । ‘जुम्लाको स्याउ खानमा खुबै मिठो छ । त्यही भएर मानिसहरुले मन पराएर स्याउ किन्नुहुन्छ । ’ उनले भने ।

आफूहरुले दुःख गरेर भएपनि आफ्नै देशको जुम्लामा उत्पादन भएको स्याउ झापा ल्याएर भारतीय र चाइनिज स्याउको मूल्य भन्दा आधा सस्तो मूल्यमा बिक्री गरेर झापालीलाई जुम्लाको स्याउको स्वाद चखाएको उनले बताए । त्यस्तै स्याउ व्यापारी चन्द्रनाथ योगी र टोपबहादुर शाहीले पनि झापालीले जुम्लाको स्याउ मन पराएकोमा खुशी व्यक्त गरे ।

आफूहरुले काठमाडौं, सुर्खेत , नेपालगञ्जमा लगेर जुम्लाको स्याउको बिक्री गरेपनि खासै बिक्री नभएको र झापा ल्याउँदा चाँडै बिक्री भएर फेरि अर्को ट्रक स्याउ ल्याउनु परेको उनीहरुले बताए । स्याउको सिजन रहेसम्म झापा ल्याएर बिक्री गरिरहने उनीहरुको भनाइ छ ।
जुम्लासम्म मोटरबाटो पुगेकाले अहिले सडकमार्ग भएर स्याउ ढुवानी गर्न केही सहज भएको बताउँदै शुरुआती चरण भएकाले एक ट्रक स्याउ झापा ल्याएको उनीहरु बताउँछन् ।

झापाका बजारहरुमा जुम्लाको स्याउ किन्न पुगेका मानिसहरु पनि आधा सस्तो मूल्यमा जुम्लाको स्याउ किन्न पाउँदा खुशी देखिन्छन् ।
बिर्तामोडको पश्चिम बसस्टेण्डमा जुम्लाको स्याउ किन्न पुगेका अर्जुनधारा नगरपालिका ६ का प्रदिप लिम्वू भारतीय र चाइनिज स्याउको मूल्य भन्दा आधा सस्तो मूल्यमा जुम्लाको स्याउ खान पाउँदा दंग छन् ।

‘जुम्लाको स्याउ खानमा मिठो र अर्गानिक रहेछ । मूल्य पनि भारतीय र चाइनिज स्याउको भन्दा आधा सस्तो रहेछ । आफ्नै देशको उत्पादन भएकाले जुम्लाको स्याउ किनेर स्याउ व्यापारीहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’ उनले भने ।
त्यस्तै अर्का ग्राहक हल्दीवारी १ का खेमराज दाहाल पनि आफूले पहिलो पटक जुम्लाको स्याउ किनेको बताउँछन् । ‘अरु स्याउ भन्दा मिठो र राम्रो रहेछ । त्यही भएर जुम्लाको स्याउ किनेको हुँ । ’ उनले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )