बिर्तामोड । फिल्म ‘पशुपति प्रसाद २ःभष्मे डन’ को छायांकन सुरु भएको छ । पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो ।

फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने जानकारी दिए ।

 खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनाल निर्माता रहेको  फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ ।  विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भुमिका रहने फिल्ममा   ‘पशुपति प्रसाद’मा हनुमानको क्यारेक्टर निभाएका कलाकार रवीन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहने छ ।

 पशुपति प्रसादमा ‘शन्करे’को क्यारेक्टर निभाएका झापाली रंगकर्मी प्रकाश दाहालको समेत अभिनय फिल्म ‘पशुपति प्रसाद २ःभष्मे डन’मा देख्न सकिने छ ।

‘शन्करे’ ले सुन चोरेर के गर्यो ? शन्करेले भस्मे डनलाई धोका दिएर भागे पछि तिनिहरुको भेट भयो भएन ? भयो भने कसरी भयो ? भएन भने किन अनि कसरी भएन ? यदि भेट भयो भने के यी दुई पात्रको सम्बन्ध त्यही रहन्छ ? कि भस्मेले बदला लिन्छ शन्करे लाई ? फिल्म ‘पशुपति प्रसाद २ःभष्मे डन’मा शन्करे पात्रको चरित्र मार्फत ती सारा प्रश्नहरुको जवाफ दिने उनले बताए ।

बि. स. २०८० को फुलपातीको अवसर पारेर चलचित्र  ‘पशुपति प्रसाद २ःभष्मे डन’ को  नेपालभरी एक साथ रिलिज गरिने उनले बताए ।