झापाका लोपोन्मुख पाँच जातिका मौलिक लोकनृत्य प्रदर्शन

झापाका लोपोन्मुख पाँच जातिका  मौलिक लोकनृत्य प्रदर्शन

बिर्तामोड । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभाग काठमाडौंको आयोजना तथा एभ्रेष्ट आर्टस् कल्चर नेपालको स्थानीय संयोजन गरेको ‘लोपोन्मुख मौलिक लोकनृत्य प्रदर्शन’ कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

झापाका लोपोन्मुख जातिका मौलिक लोकनृत्यको संरक्षण सम्वद्र्धन गर्ने उद्धेश्यले ‘लोपोन्मुख मौलिक लोकनृत्य प्रदर्शन’ कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा एभ्रेष्ट आर्टस् कल्चर नेपालका अध्यक्ष सुनिल थापाले बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख नमुना शर्माको अध्यक्षता तथा संविधान सभा सदस्य दीपक कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य एभरेष्ट कल्चर आर्ट्सका सदस्य चन्द्रप्रसाद भट्टराईले गरेका थिए ।
प्रमुख अतिथि कार्की , अध्यक्ष शर्मा तथा प्राज्ञहरुबाट नगरा, ढोलक आदि वाद्यवादन बजाएर उद्घाटन गरिएको कार्यक्रममा
झापाका ५ वटा लोपोन्मुख जाति मुण्डा, किसान, उराव, करुवा र विर्जा का मौलिक लोकनृत्य सम्बन्धित जातिका बारे जानकारी गराएर प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मुण्डा जातिका अभियन्ता विश्वजीत मुण्डाले मुण्डा जाति बारे, किसान जातिका अभियन्ता भीम किसानले किसान जाति बारे, उराव जातिका अभियन्ता विनिता उरावले उराव जातिको बारे , करुवा जातिका अभियन्ता सन्तोष करुवाले करुवा जातिका बारेमा र विर्जा जातिका अभियन्ता प्रकाश विर्जाले विर्जा जातिका बारेमा जानकारी गराउँदै त्यस कार्यक्रममा आफूले प्रस्तुत गर्ने नृत्य कुन प्रसङ्गमा कुन अवसरमा नाचिने हो, त्यो समेत जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी नृत्य प्रशिक्षकहरुले लोपोन्मुख जाति र त्यस जातिका भेषभुषा, संस्कार संस्कृति, नृत्य, बाजालगायतका बारेमा जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा पूर्वाञ्चल क्षेत्रमा नृत्यकलामा प्रशिक्षण दिने नृत्य क्षेत्रमा विशेष योगदान गर्ने धरान निवासी नृत्य निर्देशक मणि राईलाई दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने झापाका नृत्य प्रशिक्षण दिने नृत्य निर्देशकहरुलाई पनि अविर तथा खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईलगायतले झापाका लोपोन्मुख जातिका मौलिक लोकनृत्यलाई प्रस्तुत गरेर ती जातिमा लुकेर रहेका प्रतिभाको प्रस्फुटन गर्न मद्यत पुगेको बताए ।
कार्यक्रममा झापाका लोपोन्मुख जाति मुण्डा, किसान, उराव, करुवा र विर्जा का मौलिक लोकनृत्य प्रस्तुत गर्ने कलाकार र गायकलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन एभ्रेष्ट आर्टस् कल्चर नेपालकी सुनीता तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )