झापामा बढेकै हो अदुवाको मूल्य ?
बिर्तामोड । एक महिना अघिसम्म भारतले अदुवा निकासीमा अवरोध गरेपछि आत्तिएका पूर्वका अदुवा कृषकले निकासी खुलेको केही दिनमै राम्रो मूल्य पाउन थालेका छन् ।
अदुवा उत्पादन भएर बिक्री गर्ने मुख्य सिजनमै भारतीय अवरोधका कारण प्रतिमन ३/४ सय रुपैयाँमा पनि बिक्री हुन मुस्किल भएको अदुवाको भाउ अहिले बढेर प्रतिमन (४० किलो) को १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।
पहिले निकासी नहोला र लागतसमेत उकास्न सकिएन भन्ने पिरमा परेका कृषकलाई ढिलै भए पनि राम्रो मूल्य आएपछि राहत मिलेको झापा मेचीनगर ६ का कृषक रामनारायण घिमिरेले बताए ।
‘पहिले अब सडकमा नै अदुवा सड्ला भन्ने लागेको थियो, तर अहिले ढिला भए पनि राम्रो मुल्य पाएका छौँ, माग पनि राम्रै छ,’ कृषक घिमिरेले भने ।
पहिले निकासी रोकिँदा झापाका कृषकले बिक्रीका लागि तयारी अवस्थामा राखेको अदुवा सडक किनारमै थन्किएको थियो भने पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका कृषकको अदुवा बारी तथा व्यापारीको गोदाममा थन्किएको थियो ।
अहिले ती अदुवा धमाधम निकासी हुन थालेको छ । अहिले अदुवा निकासी सुरु भएपछि सबै जिल्लाका कृषकले राम्रो मुल्य लिईरहेको झापाका व्यापारी अजय राम बताउँछन् ।
पूर्वमा ८० हजार मेट्रिक टन अदुवा उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय झापाले उपलब्ध गराएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
अदुवा उत्पादनका लागि पूर्वको हावापानी राम्रो भएकाले पनि यहाँ अदुवाको उत्पादन राम्रो हुने गरेको जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताए ।
झापासहित पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ र धनकुटामा अदुवाको राम्रो उत्पादन हुने गर्छ । झापामा तीन सय ४२ हेक्टरमा खेती हुने अदुवाको वार्षिक उत्पादन ४ हजार पाँच सय ८३ टन रहेको जिल्ला कृर्षी विकास कार्यालय झापाले जनाएको छ ।
गत आर्थिक वर्षमा पूर्वमा सबैभन्दा बढी इलाममा ४५ हजार ९ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।
इलाम जिल्लामा १२ हजार ९ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन् । ३ हजार २ सय ३३ हेक्टरमा खेती भइरहेको अदुवा १ देखि ७० मनसम्म खेती गर्ने किसान इलाम जिल्लामा छन् ।
यस्तै पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ । पाँचथरमा २१ हजार एक सय ७७ टन अदुवा उत्पादन हुने गरेको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै ३ हजार ७ सय ७० हेक्टरमा अदुवा खेती हुने गरेको तथ्यांक कृषि कार्यालयसँग रहेको छ । मेचीका चार जिल्लाको वार्षिक उत्पादन सरदर ५५ हजार ४० मेट्रिक टन रहेको छ । नेपालका २६ जिल्लामा अदुवा खेती हुँदै आएको छ ।
यहाँको उत्पादन ९४ प्रतिशत भारत निर्यात हुने गरेको छ । अन्य सुठोका रूपमा अन्य देशमा जाने गरेको व्यवसायी बताउँछन् । नेपाली अदुवाको मुख्य बजार भारतको सिलिगुडी र पानीट्यांकी हुन् ।
नेपालको कुल अदुवा उत्पादनमध्ये ३१ प्रतिशत हिस्सा पूर्वका जिल्लाले ओगटेको छ ।