अर्को वर्षको दशैँ असाधारण हुनेछ : ओली

झापा, १५ असोज

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि अर्को वर्षको दशैँ सबैभन्दा रमाइलो हुने बताएका छन् ।

शुक्रबार गृहजिल्ला झापाको बिर्तामोडमा पार्टी कार्यकर्तालाई विजया दशमीको शुभकामना दिँदै एमाले अध्यक्ष ओलीले आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई संकेत गर्दै अब नेपालमा दुःखका दिन नआउने बताए ।

अध्यक्ष ओलीले अर्को वर्ष नेपालीले रमझमका साथ दशैँ मनाउने दाबी गरे ।

‘चुनाव आउँदैछ, आफैँ सम्झनुस् त अर्को साल के नेपालमा साधारण दशैँ होला ?,’ अध्यक्ष ओलीले कार्यकर्तालाई प्रश्न गर्दै भने, ‘नेपालीले अर्को वर्ष असाधारण दशैँ मनाउनेछन्, रमझमका साथ, धुमधामको दशैँ मनाउनेछन्, त्यो दशैँमा गीत पनि बजाइरहनु पर्दैन, मान्छेका मन मनमा गीत बज्नेछन् ।’

प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव नजिकिए पनि दशैँका बेला आफू भोट नमाग्ने उनले बताए । झापामा एमालेले भेट माग्नै नपर्ने ओलीको तर्क थियो ।

‘अर्को दशैँमा देश नै जुरुक्क उठ्छ, हामीजस्ता जवान मात्रै होइन, बुढा बाहरु पनि आफ्नो उमेर बिर्सिएर खुशीयाली मनाउँछन्,’ अध्यक्ष ओलीले ठट्टाको शैलीमा भने ।

कार्यक्रममा राजनीतिक कुरा नगर्ने बताएका ओलीले विजया दशमीका अवसरमा सुस्वास्थ्य, दीर्घायुको कामना गरे । सो क्रममा ओलीले ‘आयुद्रोण सुते…’ उच्चारण गर्दै त्यसको व्याख्या पनि गरे । चाडबाडलाई रमाइलो ढंगले मनाउनुपर्ने उनको जोड थियो ।

चाडपर्वका बारेमा बोल्दै ओलीले नेपालीहरु पुरानो र सम्बृद्ध संस्कृतिबाट हुर्किएर आएको बताए । नेपालमा अझै पनि दशैँजस्तो चाडलाई ‘हाम्रो चाड होइन’ भन्नेहरु रहेको भन्दै उनले दुःख व्यक्त गरे ।

दशैँ सम्पूर्ण नेपालीको चाड रहेको उनको भनाइ थियो । दशैँले परिवारका सबै सदस्यलाई एकैठाउँ भेला गर्र्ने र परिवारमा प्रशन्नता छाउने उनले बताए ।

आफूलाई बली प्रथा मन नपर्ने उनले स्पष्ट पारे । ‘पुजा गरेको बली देवीले खान्छिन् कि खान्नन्, त्यो बेग्लै कुरा हो, नखान पनि सक्छिन्,’ उनले भने, ‘देवतालाई बली दिएर खुशी पार्छु भन्ने कुरा त्यति गतिलो होइन ।

तर, मान्छेका आ–आफ्ना आस्था विश्वास भएकाले त्यस विषयमा वहस गर्न चाहन्नँ ।’ आफू सबै धर्मलाई समान रुपमा सम्मान गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा कलाकारहरु जुना प्रसाईं, टिका भण्डारी, विल्सनविक्रम राई लगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

तस्बीरः प्रदीप बनेत

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )