झापामा किन रोकिएन हात्तीको उपद्रो ?

झापा, १८ कात्तिक

धान पाक्न थालेसँगै दक्षिणी झापाका किसान हात्तीबाट धानबाली कसरी जोगाउने भन्ने चिन्तामा छन् । वर्षभरी खाने र परिवार पाल्ने आधारका रुपमा रहेको धान खेतीमा तीन वर्षयता हात्तीको रजाइँ चल्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

काँकरभिट्टास्थित मेची नदी पार गर्दै स–सना झुण्डका रुपमा भारतीय हात्ती नेपाल छिर्ने क्रम अझै रोकिएको छैन । नेपाल पसेका १३ वटा हात्तीले झापाको ज्यामिरगढी, दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिबारी, जलथल, पृथ्वीनगर, बालुबाडी, केचना पथरिया, घेरावारीलगायत स्थानमा बढी क्षति गर्ने गरेको स्थानीयको गुनासो छ ।

०४१ सालयता झापाको प्रमुख समस्याका रुपमा रहेको हात्ती–मानव द्वन्द्व नियन्त्रणमा पटक–पटक प्रयास गरिए पनि सफल नहुँदा मान्छे र हात्ती मारिने क्रम रोकिन सकेको छैन । आर्थिक वर्ष २०६७÷०६८ देखि २०७३÷०७४ सम्ममा २८ जना झापालीले हात्तीका कारण ज्यान गुमाइसकेका छन् ।

यस अवधिमा ८ वटा हात्ती पनि मान्छेका कारण मरेका छन् । आर्थिक वर्ष २०७०÷०७१ सम्म उत्तरी झापाको बाहुनडाँगीका बासिन्दाले हात्तीका कारण ज्यान गुमाउन्थे । आर्थिक वर्ष २०७२÷०७३ यता सदरमुकाम भद्रपुर नगर हात्ती उपद्रोको केन्द्र बन्दै गएको छ ।

बाहुनडाँगीमा विद्युतीय तारबार (सोलार फेन्सिङ) जडान गरिएसँगै हात्ती दक्षिणी क्षेत्रतिर सरेको स्थानीयको बुझाइ छ ।

धान तथा मकै पाक्ने समयमा भारतबाट हात्ती बाहुनडाँगी प्रवेश गरेर बितन्डा मच्चाउँथे ।

विद्युतीय तारबार लगाएपछि भारतीय हात्तीको ठूलो समूह नेपाल प्रवेश गर्न सकेको छैन । तर, साना साना झुण्ड बनाएर मेची नदी किनारबाट छिरेका हात्तीले ज्यामिरगढी हुँदै दुवागढी, चन्द्रगढी वन क्षेत्र र चारआली जंगलमा आश्रय बनाएका छन् ।

यस क्षेत्रमा एउटा मत्ता (भाले हात्ती)सहित दुई झुण्डमा १३ वटाको संख्यामा हात्ती रहेको स्थानीय बताउँछन् ।

बिगार गर्ने काममा बच्चा भएको पोथी हात्ती बढी सक्रिय देखिन्छ भने ज्यान लिनेमा भाले हात्ती अगाडि रहेको छ । यस क्षेत्रमा रहेका यी १३ वटा हात्ती यहीँका रैथाने भएका छन् ।

अन्न बाली पाक्ने समयमा अन्य आगन्तुक हात्तीको प्रवेश हुने हुँदा झापाका बाहुनडाँगी, बुधबारे, शान्तिनगर, खुदुनाबारी, सुरुंगा, सतासीधाम, दमक लगायत मोरङका उत्तरी क्षेत्रमा पनि हात्तीले कुनै न कुनै रुपमा क्षति गर्ने क्रम रोकिएको छैन ।

उत्तरी झापाको बाहुनडाँगीमा ३० वर्षसम्म प्रमुख समस्याका रुपमा रहेको जंगली हात्ती पूर्ण रुपमा नियन्त्रण हुन नसके पनि ९५ प्रतिशत नियन्त्रण भएको स्थानीय बताउँछन् ।

एक करोड २० लाख लगानीमा लगाइएको सौर्य उर्जासहितको विद्युतीय तारबारले बाहुनडाँगीमा मानव–हात्ती द्वन्द्व अन्त्य गरिदिए पनि पूर्ण रुपमा समाधान भने भइसकेको छैन ।
राहत बाँड्छ सरकार
झापामा आर्थिक वर्ष २०७३÷०७४ मा मात्र जंगली हात्तीको क्षतिवापत ३९ लाख ९४ हजार २ सय ५ रुपैयाँ राहत स्वरुप वितरण वितरण गरिएको छ ।

वन्यजन्तु क्षतिपूर्ति नियमावलीअनुसार झापामा जंगली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घरगोठ क्षतिवापत जिल्ला वन कार्यालय झापाले सो रकम वितरण गरेको हो ।

झापामा गत आर्थिक वर्षमा हात्ती आक्रमणबाट ५ जनाको ज्यान गएको छ भने गम्भीर घाइते ८ जना र सामान्य घाइते २ जना भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

जसमा मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाखका दरले ५ जनाको परिवारलाई २५ लाख राहत रकम दिइएको छ भने सख्त घाइतेलाई उपचारवापत प्रतिव्यक्ति १ लाखसम्म गरी जम्मा ८ लाख, घरगोठ क्षतिवापत ३५ परिवारलाई बढीमा २० हजारका दरले ५ लाख ८४ हजार ५ सय ३५ रुपैयाँसम्म क्षेतिपूर्ति दिएको कार्यलयले जनाएको छ ।

सामान्य रुपमा घरगोठ तथा अन्न भण्डारण क्षतिवापत प्रति वरिवार बढीमा १० हजारका दरले ८ परिवारलाई ७९ हजार ५ सय, अन्न भण्डार मात्र क्षति भएका ३ परिवारलाई ३० हजार, अन्न बाली नोक्सानी वापत ९ जनालाई ८६ हजार रुपैया वितरण गरिएको छ । त्यसैगरी घर गोठ, भण्डारण र अन्न बाली क्षति भएका एक परिवारलाई ३० हजार, घर गोठ र अन्न बाली नोक्सानी हुने एक परिवारलाई १२ हजार क्षतिपूर्ति रकम वितरण गरिएको जिल्ला वन कार्यालय झापाको विवरणमा उल्लेख छ ।

अहिलेसम्म झापामा हात्ती आक्रमणबाट २७ जना व्यक्तिले ज्यान गुमाएकोमा राज्यले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप १ करोड ३५ लाख रकम बाँडिसकेको छ । सरकारले हात्ती आक्रमणबाट अंगभंग, घरगोठ क्षति, बाली तथा अन्न भण्डार नष्ट वापत ७० लाख हाराहारीमा क्षतिपूर्ति तिरिसकेको छ ।

चुनावी एजेन्डा
स्थानीय तह निर्वाचन २०७४ को समयमा हात्ती प्रभावित क्षेत्रका स्थानीय तहमा निर्वाचन लड्ने राजनीतिक दलहरुले हात्ती उपद्रो नियन्त्रणलाई प्राथमिकताका साथ घोषणापत्र र प्रतिबद्धतापत्रमा राखेका थिए ।

कांग्रेसले केन्द्रको समन्वयमा हात्ती समस्या समाधान गर्ने गरी मतदातासामु गएको थियो भने एमालेले स्थानीय स्रोत परिचालनसँगै केन्द्रको सहयोगमा हात्ती नियन्त्रण गर्ने प्रतिबद्धता राखेको थियो ।

माओवादी केन्द्रले प्राकृतिक स्रोत परिचालन र राष्ट्रिय योजनाबीच समन्वय गरी समस्या हल गर्ने घोषणाका साथ जनतामाझ आएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्राकृतिक चिडिया घरका रुपका प्रभावित क्षेत्रलाई विकास गरी हात्ती समस्या स्वरोजगारको अवसरका रुपमा विकास गर्ने घोषणापत्र बनाएर आएको थियो ।

समस्या समाधानको खोजी
मतदाताका बीचमा गरेको प्रतिबद्धतालाई निर्वाचनमा पराजित भए पनि कांग्रेस झापा क्षेत्र नम्बर–३ ले दीर्घकालीन समाधानको कार्ययोजनासहित समस्या समाधानको माग राखेर तत्कालीन सांसद् कृष्णप्रसाद सिटौलामार्फत् प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापनपत्र बुझाएपछि हात्ती समस्या समाधानको बाटाको खोजी भएको छ ।

कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिणी झापाको समस्याका रुपमा रहेको हात्ती उपद्रो नियन्त्रण गर्न वन मन्त्रालयलाई निर्देशन दिएपश्चात जिल्ला वन कार्यालय झापासँग मन्त्रालयले हात्ती समस्या समाधान गर्न दीर्घकालिन कार्ययोजना माग गरेको थियो ।

जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीका अनुसार पूर्वी दक्षिण पश्चिम झापाको समस्या बनेको हात्ती उपद्रो नियन्त्रण गर्न जैविक मार्ग निर्माण तथा विद्युतीय तारबार बनाउने योजनासहित ८ करोड ९० लाख रुपैयाँको कार्योजना तयार भएको छ ।

जसमा चारआलीदेखि जलथलसम्म हात्ती हिँड्ने जैविक मार्ग देउनिया खोलाको आडबाट बन्नेछ भने सो मार्गको पूर्वी र पश्चिम क्षेत्रमा सौर्य उर्जाको विद्युतीय तारवार निर्माण हुने छ ।

९ किलोमिटर जैविक मार्गका रुपमा रहने चारआली जलथल वन क्षेत्रलाई जोड्ने ७५ किलोमिटर तारबारको घेराबारा रहने छ । चौतर्फी घेराबाराको तारबार र जैविक मार्ग हात्ती नियन्त्रणको दीर्घकालीन समाधान हुने लक्ष्यसहित कार्ययोजना बनाइएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )