पेट्रोलियम पदार्थको मूल्य घटयो

पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमको सोमबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २।२ रुपैयाँ घटाउने निर्णय गरेको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल ११२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्य आज सोमबार मध्यरातबाट लागू हुनेछ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो। मूल्यमा समायोजन गरेपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८१ पैसा नाफा रहेको छ। एलपी ग्यासमा भने प्रतिसिलिन्डर २८४ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले जनाएको छ।

यो समायोजनपश्चात् पनि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ३२ पैसा तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँ ७१ पैसाले नेपालतर्फ नै सस्तो कायम हुनेछ। विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुको थियो। पछिल्लो एक महिनामा निगमलाई २ अर्बभन्दा बढी घाटासमेत भएको जनाइएको छ। चालु आर्थिक वर्ष २०७५।०७६ को हालसम्मको तथ्यांकअनुसार करिब ३ अर्ब ८४ करोड रुपैयाँ घाटा भएको निगमले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )