चुनावी अभियानमा प्रचण्डलार्इ नातीको साथ !

केही दिनअघिसम्म माओवादी अध्यक्ष प्रचण्ड जहाँ हुन्थे, अघिपछि पुत्र प्रकाश दाहाल देखिन्थे । प्रचण्डको सचिवालयका प्रमुख भएकाले पनि छायाँजस्तै उनलार्इ पछ्याउनु उनको दैनिकी थियो भने सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी पूरा गर्नु मुख्य दायित्व ।

उनी बखुबी यो दायित्व निभाइरहेका थिए । तर, गत आइतबार अप्रत्यासित घटना भयो । आकस्मिक हृदयाघात आएपछि सदाका लागि प्रचण्डलार्इ छाडेर प्रकाश विदा भए ।

यो बज्रपातले प्रचण्डलार्इ पुत्रवियोग मात्र गराएन, एउटा कुशल व्यवस्थापक पनि खोस्यो । अझ प्रतिनिधिसभाको निर्वाचनको मुखैमा भएको घटनाले प्रचण्डको चुनावी अभियानमै प्रभाव पार्ने अड्कल काटिए ।

सामाजिक सञ्जालहरूमा लेखिए, वर्षौंदेखि अघिपछि रहेका पुत्रको अभाव अब कसले पूरा गर्ला ?

यो प्रश्नको उत्तर सायद प्रचण्डसँग पनि छैन । तर, शनिबार उनको चुनावी अभियानमा देखिएका दृश्यले केही फरक बयान गरिरहेको थियो । प्रचण्ड चुनावी अभियानमा थिए ।

कहिले गाडीमा त कहिले मतदाताका घरदैलोमा जहाँजहाँ प्रचण्ड थिए, प्रकाशका जेठो छोरा प्रसिद्ध साथ देखिए । अझ प्रचण्ड गाडीमा रहँदा प्रसिद्ध गाडीको अघिल्लो सिटमा बाबुकै शैलीमा बसिरहेका थिए ।

पुत्रवियोगमा रहेका प्रचण्डले आफ्नो चुनावी प्रचारप्रसारमा नाती प्रसिद्धलाई सगँसँगै लिएर हिँडेको दृश्यले प्रकाशको झल्को दिएको धेरैको भनाइ थियो ।

नातिको साथ लिएर हिँड्दा प्रचण्डको मुहारमा केही फरकपन देखिएको थियो । परिवार स्रोतले दिएको जानकारीअनुसार केही दिनपछि बुहारी सिर्जना पनि चितवन आउने र चुनावी प्रचारमा सहभागी हुने भएकी छिन् ।

कांग्रेसका वडाध्यक्ष माओवादी प्रवेश
कांग्रेस चितवनका पूर्व वडाध्यक्ष मोहनसिंह लामासहित कांग्रेसका एक सय बढी कार्यकर्ता शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

लामा नेपालकै पहिलो सहकारी बखान सहकारीको वर्तमान अध्यक्षसमेत हुन् । लामा ०५४ सालको चुनावमा साविक शारदानगर गाविस वडा नम्बर ३ का अध्यक्ष थिए ।

चितवनको शिवनगरमा आयोजित कार्यक्रममा लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसीबहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङलगायतका कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । लामाले कांग्रेसले नागरिक र देशको पक्षमा कुनै काम गर्न नसकेकाले आफू माओवादीमा आएको बताए ।

म कसरी टूरिष्ट ?
त्यसक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा क्षेत्र नम्बर ३ का का उम्मेदवार प्रचण्डले चितवनका लागि आफू टूरिष्ट नभएको बताए ।

‘यही क्षेत्रबाट ०७० सालमा कांग्रसका तत्कालीन सभापति सुशील कोइराला चुनावी प्रतिस्पर्धा गर्दा टुरिष्ट नहुने यही जिल्लामा हुर्केबढेको, राजनीति सिकेको व्यक्ति टूरिष्ट हुने ?’ उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपति बन्ने व्यक्ति कसरी टुरिष्ट हुन्छ ?’

सुरक्षा चुनौति बढ्यो
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा चितवनमा सुरक्षा चुनौति बढ्दै गरहेको छ । विभिन्न स्थानमा बम फेला पर्न थालेक छन् ।

शुक्रबार राति पूर्वी चितवनमा ठूलो बम विस्फोट भएको छ । खैरहनी नगरपालिका–२ चैनपुरनजिक खाली चौरमा सवा १० बजे बम विस्फोट भएको हो । प्रहरीले सो विस्फोट सिलिण्डर बम भएको हुन सक्ने आशंका गरेको छ ।     नयाँ पत्रिका

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )