सनलाइटको रजत महोत्सवको साँगीतिक माहौलले ततायो बिर्तामोड

बिर्तामोड । नेपाली सङ्गीतको धरातललाई बलियो बनाउन महत्वपुर्ण भूमिका खेल्ने झापाकै पहिलो संगीत विद्यालय सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कूल बिर्तामोड–५ ले रजत वार्षिकोत्सव मनाएको छ ।
सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कूल संस्थापक प्रवन्ध निर्देशक कृष्ण योञ्जनको अध्यक्षता तथा संगिततज्ञ राजकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कूल संस्थापक सञ्चालक हेमा भण्डारीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा कार्यक्रम संयोजक जोनी योञ्जन, पूर्व विद्यार्थीहरु गायक पुष्पन प्रधान, श्रीकृष्ण लुईंटेल , भ्वाइस अफ नेपाल सिजन टु का विजेता राम लिम्वू, वादल लिम्वू , गायिका सविना योङहाङले शुभकामना मन्तव्यसहित साँगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा अन्नपूर्ण च्याम्वर अफ काठमाडौंका २५ जना कलाकारहरुले भ्वाइलिन प्रस्तुति गरेका थिए ।कार्यक्रममा ईश्वरीय संगीत विद्यालयका संगीत गुरु उमेश खड्काले राग दर्वारी,सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कूलका विद्यार्थी निशान दाहालले राग र्वन्दावनी साराङ्ग प्रस्तुति दिएका थिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
सोही कार्यक्रममा सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कूलका उत्कृष्ट विद्यार्थीहरु इश्वरी श्रेष्ठ, उमेश खड्का, निशान दाहाललाई सम्मान गरिएको थियो भने ३० जना पुराना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बिर्तामोडस्थित कृष्ण सिनेमा हलमा भएको कार्यक्रममा २५ जना भ्वाइलन र सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कूलका १५ जना विद्यार्थीले सनलाइटको वाद्यवादन बजाउँदै गीत प्रस्तुत गर्दा त्यहाँको साँगीतिक माहौल उत्कर्षमा पुगेको थियो । कार्यक्रममा वरिष्ठ लोक गायक एलपी जोशी, गायकहरु विशाल राई, आनन्द सुव्वा, साँसद विमला विक ,चलचित्र निर्देशक तथा निर्माता लाखमान योञ्जन, केवल तामाङ, दिनेश कोइरालालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन लोकचन्द्र श्रेष्ठ (एलसी) र सुनिता तामाङले गरेका थिए ।